भीमदत्त नगरपालिकाले घटायो ५५ प्रतिशतसम्म सरसफाइ शुल्क

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ५५ प्रतिशतसम्म सरसफाइ शुल्क घटाएको छ ।
गत आर्थिक वर्षसम्म लिईदैँ आएको सरसफाइ शुल्क चालु आर्थिक वर्षबाट घटाइएको हो ।
नगरपालिकाले ब्रह्मदेव–गड्डाचौकी क्षेत्रमा वार्षिक रु. २ हजार ६ सय ४० (मासिक रु. २ सय २०) शुल्क लिँदै आएकोमा चालु आर्थिकमा घटाएर १ हजार २ सयमा पुर्याएको छ । जुन साबिकको भन्दा झन्डै ५५ प्रतिशतले कम हो ।
त्यस्तै, महेन्द्रनगर बजारको ३ किलोमिटर आसपासका आवासीय क्षेत्रमा पनि प्रति घरबाट वार्षिक रु. २ हजार ६ सय ४० रकम शुल्क लिईदैँ आएकोमा चालु आर्थिक वर्षमा भने घटाएर १ हजार ५ सय रुपैयाँमा मात्रै सीमित राखिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल चन्दले सबैलाई सरसफाइमा समेट्न शुल्क घटाइएको बताउनुभयो ।
उहाँका अनुसार नगरपालिकाले सरसफाइ शुल्क बापत घरहरूबाट दैनिक रूपमा फोहोर सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ ।
भीमदत्त नगरपालिकाले सरसफाइ व्यवस्थापनको दायरालाई फराकिलो बनाउँदै प्रगतिशील कर नीति अवलम्बन गरेको उहाँको भनाइ छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा करिब रु.२३ करोड रकम आन्तरिक राजस्व सङ्कलन गरेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्