तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा चाडपर्वको आगमनसँगै दूधको खपत बढ्यो

file photo

चितवन । चितवनमा साउन लागेपछि दूधको बिक्री बढेको छ । 

दूधको उत्पादनको तुलनामा माग बढ्दै जाँदा चितवनमा दूधको खपत बढ्दै गएको हो  । तर निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय दूधको उत्पादन घटेको किसानहरूले बताएका छन् । 

भरतपुर महानगरपालिका वडा नम्बर ५ का किसान इन्द्रमणी गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रुपमा बढेको बताउनुहुन्छ  । 

“पूर्ण निषेधाज्ञा हुँदा नत घरवालाले माग्थे नत डेरी पसल नै पूर्णरुपमा खुलेका थिए उहाँले  भन्नुभयो, पहिले बजार आफैले लैजाँदा फर्काउनुपर्थ्यो अहिले उत्तिखेर नै बिक्री हुन्छ ।” उहाँले हाल आफ्नो घरमा  दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकोमा सबै दूध बिक्री भएको बताउनुभयो  । 

चितवनमा कतिपय किसानले सिधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पुर्‍याउँदै आएका छन् त कतिपय किसानले दुग्ध सहकारीमार्फत दूध बिक्री गर्दै आएका छन् । 

भरतपुर महानगरपालिका वडा नम्बर १६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि यो समय उत्पादन नै कम भएको बताउनुहुन्छ । “अहिले माग त छ दूध उत्पादन नै छैन उहाँले भन्नुभयो, “निषेधाज्ञा अघि दैनिक ३ हजार लिटर दूध सङ्कलन थियो अहिले १५ सय लिटर सङ्कलन छ ।”

राष्ट्रिय व्यावसायिक पशुपालन दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरले खपत मात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउनुहुन्छ । “निषेधाज्ञा किसान पनि घटे, दूध उत्पादन पनि घट्यो”, उहाँले भन्नुभयो, “उत्पादनको तुलनामा खपत बढेपछि बिक्री राम्रै जस्तो देखिएको मात्र हो ।” 

बिशेषगरी साउन महिनामा हिन्दुहरूको  चाडपर्व र व्रत बस्ने प्रचलन भएकोले दूधको खपत बढेको उहाँले बताउनुभयो  । 

सामान्यतया साउन महिना यता उत्पादन घट्ने र खपत बढ्ने महिना भएकोले दूधको माग र आपूर्तिमा सन्तुलन नमिलेको  हो । 

चितवनमा अन्य समयमा दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भए पनि हाल करिब ३ लाखको लिटरको हाराहारीमा दूध उत्पादन हुने गरेको छ । 

“अहिले गाई भैँसी ब्याउने बेला भएकोले दूधको उत्पादन कम र खपत बढ्ने महिना पनि हो ।” जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले भन्नुहुन्छ  । 

हाल घरघरमै दूधको माग र खपत बढी भएकोले पनि बजारमा दूध अभावजस्तै भएको  उहाँले बताउनुभयो  । 

उहाँका अनुसार अन्य समयमा चितवनमा कुल दूध उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्लामा पठाउने गरिए पनि यो महिनामा आधा यही खपत हुने गरेको र  आधा बाहिर पठाइने गरिएको  छ । 

“गर्मीको समयमा दही, आइसक्रिमको माग पनि बढी हुन्छ ।  निषेधाज्ञा खुकुलो भएपछि  मानिसको गतिविधि लगायत सबै बढेपछि दूधको खपत पनि स्वतः बढ्ने नै भयो ।” बगालेले भन्नुभयो । 

यस पटकको ४५ दिनको निषेधाज्ञामा मात्र दूध बिक्री नभएर  चितवनमा ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेको किसानहरूले बताएका छन्  । 

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध भएका १ सय १० वटा दुग्ध सहकारी छन् भने यहाँ करिब ४० हजार जना किसानले दूध बेच्ने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button