तपाईँ सुन्दै हुनुहुन्छः

अनलाइन सेवाले विद्युत् महसुल तिर्न सहज

भोजपुर । नियमित रूपका कार्यालय पुगेर बिद्युतको महशुल बुझाउँदै आएका राजकुमार तामाङ अहिले अनलाइन सेवा मार्फत महशुल भुक्तानी गर्छन् । तामाङ अनलाइन सेवाको सहजताका बारेमा भन्छन्, “म त महशुल तिर्न अचेल बिजुली अफिस जान्न, घण्टौँ लाइनमा बस्नु पर्छ, बरु अनलाइनबाट भुक्तानी गर्छु, अन्य काम पनि भ्याइन्छ ।”

पछिल्लो समयमा हरेक कारोबार अहिले अनलाइनबाट हुन थालेको छ । विभिन्न निकायमा भुक्तानी गर्नुपर्ने रकमहरू समेत अहिले अनलाइनबाट तिर्ने गरिएको छ । समयको समेत बचत हुने भएकाले अनलाइन सेवा प्रभावकारी बन्दै गएको हो । 

भोजपुरमा बिद्युत् प्राधिकरणको महशुल मात्र होइन अहिले खानेपानीले पनि अनलाइन भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । भोजपुरको खानेपानी व्यवस्थापनको जिम्मा पाएको सिलिचुङ खानेपानी तथा मूल उपभोक्ता समितिका कोषाध्यक्ष कृष्णमाया तामाङले विगतमा जस्तो कार्यालयमा नै धाउनु पर्ने बाध्यताको अन्त्य गर्न अनलाइन भुक्तानीको व्यवस्था गरिएको बताइन । उनले भनिन,“अहिले प्राय सबै केही न केही पेशामा लागेका हुन्छन्, कार्यालयमा महशुल तिर्न आउन पाउँदैनन्, त्यसैले अनलाइन सेवा प्रभावकारी बनेको छ ।”

कर तथा राजस्व तिर्नका लागि पनि अहिले अनलाइन सेवा प्रभावकारी भएको छ । कोरोना सङ्कटका कारण पनि आवतजावतमा समस्या हुने अवस्था अनलाइन सेवा प्रभावकारी देखिएको उद्योग वाणिज्य सङ्घ भोजपुरका कार्यालय सचिव मिना कार्कीले बताइन । कार्की भन्छिन्, “अनलाइनबाट कर, राजस्व दाखिला, बैक धाउनु पर्ने झन्झट पनि अन्त्य हुने भएकाले अहिले बढी यो प्रयोग हुन थालेको छ ।” 

यता अनलाइन सेवाका कारण नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रमा विगतको तुलनामा महशुल भुक्तानी गर्न आउनेको सङ्ख्यामा समेत कमी आएको छ । जिल्ला भर करिब १८ हजार ग्राहक रहेकोमा अधिकांश ग्राहकहरूले अनलाइन सेवा मार्फत महशुल भुक्तानी गर्ने गरेको नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । 

वितरण केन्द्रले अहिले महशुल भुक्तानी कार्यालयमा आएर भन्दा अनलाइनबाट गर्नका लागि प्रचारप्रसार समेत गर्दे आइरहेको छ । आर्थिक बर्ष २०७७/०७८ मा प्राधिकरणमा कार्यालयमा आएर भन्दा अनलाइन मार्फत महशुल भुक्तानी गर्नेको सङ्ख्या बढी देखिएको छ । “अनलाइन सेवाका कारण कर्मचारी व्यवस्थापनमा सहजता आएको छ भने यसले कार्यालयमा भिडभाड समेत कम हुने गरेको छ, विशेष गरेर कोरोना सङ्कटको समयमा अनलाइन भुक्तानी जोखिम कम गर्ने माध्यम समेत बनेको छ ।” नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका निमित्त प्रमुख युवाराज घिमिरेले बताए । 

आर्थिक बर्ष २०७७/०७८ मा नियमित महशुल बुझाउने मध्ये ५० प्रतिशत भन्दा बढी ग्राहकले अनलाइन सेवा प्रयोग गर्दे आई रहेका छन् । अनलाइन सेवाको प्रयोगले राजस्व सङ्कलन समेत प्रभावकारी बनेको छ । प्राधिकरणमा अहिले नयाँ लाइन जडानका लागि मिटर लिन आउने सेवाग्राही मात्र कार्यालयमा बढी आउने गरेका छन् । प्राधिकरणको आय फाँटमा कार्यरत कर्मचारी अशोक खतिवडा नयाँ मिटर कार्यालयबाट नै लिनु पर्ने भएकाले अनलाइन मार्फत भुक्तानीको व्यवस्था नभएको बताउँछन् ।  

अनलाइन सेवाको सुरुवातले अहिले हवाई टिकट लिन समेत सहज भएको छ । हवाई टिकट लिनका लागि कार्यालय आउनु पर्ने र लाइनमा बस्नु पर्ने बाध्यता समेत अनलाइनले हटाएको छ । नेपाल बायु सेवा निगम भोजपुरका प्रमुख प्रकाश खडकाले भने, “सेवालाई प्रभावकारी बनाउन अनलाइन मार्फत पनि ई टिकट लिने व्यवस्था गरिएको छ, यसबाट निगमलाई पनि सेवा दिन सहज भएको छ ।” भोजपुरमा निगमको जहाजले मात्र हप्तामा ६ वटा भोजपुर काठमाडौँ उडान भर्दे आई रहेको छ । 

अनलाइन सेवाले अहिले पसलमा गएर मोबाइलको रिचार्ज कार्ड किन्नेको सङ्ख्या समेत घटेको छ । बैकमा भएको आफ्नै खाताको रकमबाट मोबाइल रिचार्ज गर्न सकिने भए पछि कार्ड किन्नेको सङ्ख्यामा समेत कमी आएको हो । टेलिकममा गएर ल्यान्ड लाइन फोन, इन्टरनेटको शुल्क र अन्य महशुल पनि अनलाइनबाट नै तिर्न सकिने भएकाले विगतको तुलनामा कार्यालय आउने सेवाग्राहीको सङ्ख्या केही कमी देखिएको नेपाल टेलिकम भोजपुरका कर्मचारी अम्बिका प्रसाद पराजुलीले बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button