चितवनमा निषेधाज्ञालाई कडा बनाउँदै ३२ गतेसम्म थप

चितवन । चितवनमा अघिल्ला समयमा भन्दा भोलिबाट गरिने निषेधाज्ञालाई कडा पारिएको छ । चितवनमा दैनिक जसो सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्ला प्रशासन कार्यालयद्वारा आज आदेश जारी साउन ३२ सम्म निषेधाज्ञा थप गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टराईले जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि थप जोखिम र त्रास बढेकोले निषेधाज्ञा केही कडा पारिएको जानकारी दिनुभयो । जारी निषेधाज्ञा आज राती १२ बजे सकिंँदैछ ।
‘तेस्रो भेरियण्टको जोखिम पनि बढ्यो, संक्रमण र मृत्युदर पनि घटेन ।’ भट्टराईले भन्नुभयो । पछिल्लो समय मानिसहरूको गतिविधि र भीड बढ्दै गएकोले भोलिदेखि जारी हुने निषेधाज्ञामा अनुगमन र नियमन पनि गरिने भट्टराई को भनाई छ ।
जारी आदेश अनुसार थप गरिएको निषेधाज्ञामा अत्यावश्यक दैनिक खाद्य बस्तु बिक्री तथा खरिदमा दैनिक तालिका र समय निर्धारण गरिएको छ । यसअघि हप्ताको सातै दिन पूर्ण समय खोल्न पाइने आदेश थियो । जारी आदेश अनुसार अन्य उपभोग्य बस्तुका पसलहरू अब आइतबार मङ्गलवार र बिहीबार मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म खोल्न पाइने छ ।
यस्तै कृषिजन्य बस्तु, पशु चौपायका आहारा र दुध डेरी खुल्ने समयलाई पनि केही कडा पार्दै निश्चित समय निर्धारण गरिएको छ । यस्ता बिक्री केन्द्र तथा पसलको हकमा बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न पाइने आदेशमा उल्लेख छ । यस्तै रेष्टुरेण्ट , खाजा पसल र मिठाई पसलको हकमा दैनिक मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म खोल्न पाइने र अत्यावश्यक सवारी साधन बाहेक निजी तथा सार्वजनिक साधनको हकमा जोर बिजोर प्रणाली लागु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्