तपाईँ सुन्दै हुनुहुन्छः

परदेशीको माया : गृह नगरलाई चार अक्सिजन कन्सन्ट्रेटर सहयोग

तनहुँ । शुक्लागण्डकी नगरपालिकाको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र स्वास्थ्य शाखालाई अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ । 

कोरोना महामारीको समयमा बिरामीको उपचारमा सहयोग पुर्‍याउन उद्देश्यले अस्पतालका लागि साइनो नेपाल मिडिया सोसाइटीको गरिबी निवारणका लागि चिनिया कोषमार्फत उक्त सामाग्री प्रदान गरिएको हो । 

अस्पताल र शाखा लागि दुई÷दुई वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्दै सोसाइटीका अध्यक्ष धुर्व पौडेलले नेपालमा कोरोना नियन्त्रणको अभियानमा सहभागिता जनाउन सहयोग गरिएको बताउनुभयो । 

स्वास्थ्य शाखाका लागि प्रदान गरिएको सामाग्री ग्रहण गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले कन्सन्ट्रेटरको प्रभावकारी प्रयोग हुने बताउनुभयो । 

मेयर गुरुङले विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगमा नगरलाई विभिन्न स्वास्थ्य सामाग्री प्राप्त भएको बताउँदै कोभिड–१९ विरुद्धको अभियानमा लड्न आत्मबल मिलेको बताउनुभयो । 

“प्राप्त सामाग्रीले हामीलाई र स्वास्थ्यकर्मी दुबैलाई आत्मविश्वास जगाएको छ,” उहाँले भन्नुभयो, “सबै मिलेर यस्ता अभियानमा लड्न सकिन्छ भन्ने उदाहरण पनि हो ।” 

यस्तै गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाको उपस्थितमा जिपी अस्पतालमा पनि दुई कन्सन्ट्रेटर प्रदान गरिएको छ । 

अस्पताललाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै कोइरालाले कोभिड–१९ को तेस्रो लहर विरुद्ध लड्ने प्राप्त स्वास्थ्य सामाग्री सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

शुक्लागण्डकीको दुलेगौडाका स्थानी बासिन्दा रहेका पौडेलले चीनमा लामो समय रहेर काम गरेको अनुभव रहेको सुनाउँदै चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गर्न सके नगरले फाइदा लिन सक्ने सुझाव दिनुभयो । 

उहाँले नगर र यस क्षेत्रका सामाजिक सङ्घसंस्थामा सहयोगको लागि सहजीकरण तयार रहेको उल्लेख गर्नुभयो । 

बिजुलीबाट चल्ने कन्सन्ट्रेटरको प्रति मूल्य करिब १ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button