तपाईँ सुन्दै हुनुहुन्छः

३ सय १९ जना सवारी चालक कारबाहीमा

जुम्ला । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिनै सवारी चलाउने जुम्लाका ३ सय १९ जना चालक कारबाहीमा परेका छन् ।  

गत आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्मको तथ्याङ्क अनुसार लाइसेन्स बिना नै सवारी चलाउने जुम्लाका तीन सय १९ जना चालक कारबाहीमा परेका हुन् । 

लाइसेन्स बिना नै सवारी चलाउनेमा सबैभन्दा बढी अटो चालक, त्यसपछि मोटरसाइकल र ट्याक्टर,जीप चालकहरू रहेका छन् । 

सङ्घीयतापछि जुम्लामा ट्रायल सेन्टर हुँदाहुँदै यातायात व्यवस्था कार्यालय खारेज गरी लाइसेन्स वितरण बन्द गरेपछि जुम्लासहित साबिक कर्णालीका अधिकांश चालक लाइसेन्स विहीन रहेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक विमल कुमार रावतले बताउनुभयो । 

उहाँका अनुसार सुर्खेत गएर लाइसेन्स ल्याउन आर्थिक तथा भौगोलिक रूपले समस्या भएपछि जुम्लाका चालक कमाइभन्दा बढी जरिवाना तिरेर सवारी चलाउने गरेको छन् । 

सवारी कारबाहीबाट १३ लाख राजश्व सङ्कलन
जुम्लामा सवारी कारबाहीबाट १३ लाख बढी राजश्व सङ्कलन भएको छ । 

जिल्ला ट्राफिक कार्यालय जुम्लाले गएको आर्थिक वर्षमा विभिन्न शीर्षकमार्फत १३ लाख २२ हजार ५० रुपैयाँ राजश्व सङ्कलन भएको जनाएको छ । 

ट्राफिक कार्यालय जुम्लाका प्रहरी हवलदार कुशराज शाहीका अनुसार आव २०७६/०७७ एक हजार १ सय १३ सवारी कारबाहीबाट १० लाख ४० हजार राजश्व सङ्कलन भएको  र आव २०७७/०७८ मा एक हजार ३ सय २८ सवारी कारबाहीबाट १३ लाख २२ हजार राजश्व सङ्कलन भएको छ । 

जसमा लाइसेन्स बिनै सवारी चलाउने चालकहरूको कारबाहीबाट ३ लाख २२ हजार जरिवाना असुली भएको छ । 

क्षमताभन्दा बढी यात्रु राख्ने २ सय ५९ सवारीलाई कारबाहीबाट  २ लाख ५९ हजार जरिवानालगायत अन्य विभिन्न शीर्षकबाट गरी १३ लाख बढी राजस्व सङ्कलन भएको हबलदार कुशराज शाहीले जानकारी दिनुभयो । 

तथ्याङ्कले जुम्लामा सवारीको चापसँगै ट्राफिक नियम उल्लङ्घन पनि उत्तिकै बढेको प्रष्ट हुन्छ ।

गत आर्थिक वर्ष जुम्लामा २६ वटा सवारी दुर्घटना भएका छन् । जसमा ४ जनाको मृत्यु भएको छ । भने, १३ जना गम्भीर घाइते र ३७ जना सामान्य घाइते भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button