कुफ्री जातको आलु बालीको परीक्षण अध्ययन

सोलुखुम्बु । परम्परागत रुपमा गर्दै आएको कृषि प्रणालीमा सुधार ल्याउने उद्देश्यले गार्मामा जिल्लामै पहिलो पटक आलु बालीको परीक्षण अध्ययन गरिएको छ ।
नेपालको कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको कर्मा ग्रुप अफ कम्पनी र प्राविधिक धार अन्तरगतको कृषि बाली विज्ञान अध्ययन गराउँदै आएको गार्मा माध्यमिक विद्यालय गार्माको सहकार्यमा आलु बालीको परिक्षण अध्ययन गरिएको हो ।
गत फागुनमा मकै र तरकारी बाली रोपिएको थियो । सोलुखुम्बुको हावापानीमा सुहाउँदो खेती गरी थोरै लागत र जमिनमा अधिकतम कृषि उपज उत्पादन गरी आर्थिक अवस्था सुधार गर्न समुदायलाई टेवा पुगोस् भन्ने उद्देश्य मल खाद व्यवस्थापन र आलुको खेतीको बारेमा प्रारम्भिक अध्ययन गरिएको विद्यालयका प्रधानाध्यापक विनोदसिंह तामाङले जानकारी दिनुभयो ।
परम्परागत खेती प्रणाली र कर्मा ग्रुप अफ कम्पनीले अवलम्बन गरेको आधुनिक खेती प्रणाली बीचमा तुलना गरिएको छ ।
अध्ययनको प्रारम्भिक नतिजा अनुसार जिल्लामा कुफ्री जातको आलु वातावरण सुहाउँदो रहेको छ ।
उत्पादन र मलको हिसाबले हेर्दा परिमाणात्मक रुपमा कुफ्री जातको आलु उत्पादन भएको पाइएको विद्यालयका कृषि शिक्षक सुजन विष्टले बताउनुभयो ।
कर्मा ग्रुप अफ कम्पनीको खेती प्रणाली र स्थानीय खेती प्रणालीमा छुट्टाछुट्टै छ जातको आलुबीच तुलना गरिएको छ भने डेमोको रुपमा मात्रै १० जातको आलुको परीक्षण गरिएको छ ।
बाली परीक्षणबारे सिक्न पाउँदा विद्यार्थी पनि उत्साहित बनेका छन् ।
विद्यार्थी अशोक कुलुङले गाउँघरमा गर्ने खेती र नयाँ प्रविधिबारे धेरै भिन्नता रहेको बताउनुभयो ।
हिमाली क्षेत्रमा गरिने खेतीको परीक्षण, माटो परीक्षण र अनुसन्धान थालिएको अनुसन्धानका पहलकर्ता तथा गार्मा माविका व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्