श्रीमतीको किरियामा बस्दै प्रतिनिधि सभा सदस्य तिमल्सिना

रौतहट । रौतहटको ४ नम्बर क्षेत्रका प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिना आफै श्रीमतीको निधन भएपछि किरियामा बस्नु भएको छ । चन्द्रपुर–९ निवासी रेणु तिमल्सिनाको गएको २१ गते ४९ वर्षको उमेरमा निधन भएपछि उहाँको श्रीमान् नेपाली काँग्रेसका सांसद देव प्रसाद तिमल्सिना आफै परम्परागत संस्कार तोड्दै १३ औ दिनको किरियामा बस्नु भएको हो ।
पार्थिव शरीरमा आफैले दागबत्ती दिएर उहाँ किरियामा बस्नु भएको हो । उहाँको तीन जना छोरी रहेको र छोरा नभएपछि श्रीमतीको निधन भएपछि घरमा उहाँ आफै हिन्दु परम्परा अनुसार किरियामा बस्नु भएको हो । परम्परागत सामाजिक संस्कार तोड्दै श्रीमतीको निधन पछिको किरियामा स्थानीय ब्राह्मणको सल्लाहमा नै किरियामा बस्नु भएको जनाइएको छ ।
आफ्नो जीवनसाथी गुमाएपछि हिन्दु संस्कार अनुसार आफै किरियामा बसेर उहाँ समाजमा उदाहरणीय पात्र बन्नु भएको छ । पछिल्लो समय छोरा नभएका आमा बुवाको निधन हुँदा छोरीहरू समेत १३ औ दिनको किरियामा बस्न थालिसकेका छन् ।
राजनीति मार्फत समाज परिवर्तन र नागरिकको जीवनस्तर उकास्नु पर्दछ भनेर लागि पर्नु भएका प्रतिनिधि सभा सदस्य तिमल्सिनाको यो कार्यले समाज भित्रको विकृतिलाई चिर्न मदत पुग्ने स्थानीय कल्याण कार्कीले बताउनु भयो ।
जीवनको आधा हिस्सेदार रहेको श्रीमतीको निधन भएपछि उहाँको मृत आत्माको शान्तिको लागि प्रतिनिधि सभाका सदस्य देव प्रसाद तिमल्सिना आफै किरियामा बस्नु भएको उहाँको स्वकीय सचिव मुकेश गिरीले बताउनु भयो ।
उहाँका आफन्त र नातेदारले भतिज हरि तिमल्सिनालाई किरियामा बस्न तयारी गराइरहेकै बेला उहाँ भने श्रीमतीको निधनपछिको १३ औ दिनको किरियामा आफै बस्नु भएको हो । बुवा आमाको निधन पछि जसरी छोरा किरियामा बस्छन् सोही विधि बाट उहाँ किरियामा बस्नु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्