तपाईँ सुन्दै हुनुहुन्छः

कार्यदलले गरेको सिफारिस कडाइका साथ कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि कार्यदलले गरेको सिफारिस कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ । 

सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा.वैकुण्ठ अर्याल संयोजक रहेको कार्यदलले गरेको सिफारिस कार्यान्वयन गर्न निर्देशन दिएको हो । 

समितिले प्रतिष्ठानको हित विपरीत खराब आचरण देखाउने जो कोही भए पनि निष्पक्ष ढङ्गबाट कारबाही अघि बढाउन निर्देशन दिएको र त्यसको कार्यान्वयन नभए समितिले अग्रसरता लिने जानकारी समेत गराएको छ । 

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिष्ठानको समस्या समाधानका लागि कार्यदलले गरेको सिफारिस सार्वजनिक गर्न प्रधानमन्त्रीको निर्देशन समेत आएको जानकारी गराउनुहुँदै दोषीलाई कारबाही गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो । 

राज्यमन्त्री श्रेष्ठले प्रतिष्ठानको सिनेट बैठक २१ दिनभित्र बोलाएर छानबिन गरी अनियमित र खराब आचरण गर्नेलाई कारबाही गर्न निर्देशन दिएको जानकारी दिनुभयो । 

बैठकमा सांसदहरुले एक दुई व्यक्तिको आचरणका कारण प्रतिष्ठित संस्थालाई धराशायी बनाउन दिन नहुने भन्दै त्यसको मिहिन ढङ्गबाट अध्ययन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले प्रतिष्ठान लगायत अत्यावश्यक सेवा दिने र जनसरोकारसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस्ता संस्थाहरूलाई व्यवस्थित गर्न उपसमिति नै बनाएर गहन अध्ययन गर्न समिति सभापतिको ध्यानाकर्षण समेत गराउनुभयो । 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या पहिचान तथा छानबिन कार्यदलले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको व्यक्तिगत आचरण र व्यवहार, खरिद प्रक्रिया, प्राज्ञिक क्षेत्र, नीतिगत तथा कानुनी क्षेत्रलगायत  दश वटा क्षेत्रगत विषयमा सुधारका लागि सिफारिस गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button