आयुर्वेदिक चिकित्सालयको भवन हस्तान्तरणको अन्योलले सञ्चालनमा बिलम्ब

झापा । झापाको कमल गाउँपालिका–७ मा प्रदेशकै ठूलो पूर्वाधारयुक्त पूर्वाञ्चल आयुर्वेदिक चिकित्सालयको भवन बने तापनि हस्तान्तरणको अन्योलले सञ्चालनमा बिलम्ब भएको छ ।
दुई बिगाहा एक धुर क्षेत्रफलमा फैलिएको चिकित्सालयको ५० शय्याको अस्पताल भवन सङ्घीय सरकारको सहयोगमा रु. २० करोड ५१ लाखको लागतमा हालै सम्पन्न भएको छ । यसलाई आयुर्वेद शिक्षामा आधारित प्रदेशकै एक मात्र मेडिकल कलेजको रुपमा विकास गर्ने सङ्घीय सरकारको योजना छ ।
गत असार २५ गते निर्माण कम्पनीले चिकित्सालयको भवन सघन सहरी विकास तथा भवन निर्माण कार्यालय झापालाई जिम्मा बुझाइसकेको छ । तर, सङ्घीय कि प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने भनेर उपल्लो सरकारी तहबाट कुनै निधो नआउँदा सञ्चालनमा ढिलाइ भएको छ ।
२०७५ साल भाद्र ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सालयको शिलान्यास गर्नुभएको थियो । भवन तीन तलाको बनेको छ । हालसम्म सङ्घीय सरकारले प्रदेशलाई भवन हस्तान्तरण गरिनसकेको हुँदा उद्घाटनमा बिलम्ब भएको हो ।
“चिकित्सालयको भवन निर्माण भइसक्यो”, सघन सहरी विकास तथा भवन निर्माण कार्यालय झापाका इन्जिनियर भूपेन्द्रकुमार यादवले भन्नुभयो, “अस्पताल सङ्घीय सरकार वा प्रदेश सरकार कसलाई बुझाउने भन्ने बारे अन्योल छ । माथिल्लो तहमा कुरा भइरहेको छ, सायद छिटै समाधान होला ।”
प्रदेश–१ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले सो अस्पताल सङ्घीय सरकारबाट प्रदेश सरकारको मातहतमा ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँले प्रदेश मातहतमा अस्पताल आइसकेपछि सञ्चालनका लागि भनेर सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्ष २०७८÷०७९ मा रु. एक करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले यो चिकित्सालय प्रदेशस्तरीय आयुर्वेदिक अस्पतालको रुपमा सञ्चालनमा ल्याइने र आयुर्वेद चिकित्सा शास्त्रको पढाई हुने मेडिकल कलेज नै बनाउने योजना रहेको बताउनुभयो । आयुर्वेद मेडिकल कलेज बनाउने भनेरै अहिले भौतिक संरचना तयार पारिएको उहाँको भनाई छ ।
“आम मानिसको आयुर्वेदिक उपचार पद्धतिप्रति विश्वास बढेको छ”, उहाँले भन्नुभयो, “तर जिल्लामा प्रायः कविर र बैद्यहरुबाट मात्र उपचार भइरहेको हुँदा विशेषज्ञ चिकित्सक उत्पादनका लागि मेडिकल कलेज आजको आवश्यकता हो ।”चिकित्सालयमा इमरजेन्सी, ओपिडी, प्रसूति सेवा र आइसियु कक्षका लागि छुट्टाछुट्टै ब्लक बनाइएको छ भने योगाका लागि छुट्टै हलको व्यवस्था गरिएको उहाँको भनाई छ । उहाँले आगामी भदौको पहिलो हप्ताबाट अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्