तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा १ करोड लागतमा कृषि घाँस उद्योग सञ्चालन

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ जमुनापुरमा १ करोड लागतमा कृषि घाँस उद्योग सञ्चालनमा आएको छ । 

जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कष्टम ह्यारिङ सेन्टरको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । 

स्थानीय प्रेम थापा, शिव थापा र सुजिन्द्र बहादुर थापाको संयुक्त लगानीमा सो कृषि घाँस उद्योग सञ्चालनमा आएको हो ।

 

गाई, भैँसी, बाख्रा लगायतका पशु वस्तुहरूलाई खुवाउने घाँस उत्पादन तथा प्याकेजिङ गर्ने उद्देश्यका साथ सो कृषि घाँस उद्योग सञ्चालन गरिएको उद्योगका अध्यक्ष प्रेम थापाले बताउनुभयो । 

हरियो मकै सहितको बोटलाई काटेर मेसिनको माध्यमबाट कृषि घाँस प्याकेजिङ गर्ने काम गरिन्छ । 

सो घाँस प्याकेजिङ गर्दा नै पशु वस्तुहरूलाई आवश्यक पर्ने मिनलरहरू समेत राखी प्याकिङ गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो । सो प्याकिङ गरिएको घाँस ५ वर्षसम्म प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । 

स्थानीय किसानहरूले लगाएको मकैको हरियो बोटसहित प्रति कट्ठा २ देखि ३ हजार रूपैयामा खरिद गरी उद्योगले ल्याउने गरेको उद्योगका सञ्चालक शिव थापाले जानकारी दिनुभयो ।

हाल चितवनको पदमपुर, जमुनापुर, पिठुवा क्षेत्रबाट हरियो मकै सहितको घाँस खरिद गर्ने गरिएको थापाले जानकारी दिनुभयो । 

किसानहरूले उत्पादन गरेको मकै बजारमा विक्री गर्ने मूल्य भन्दा महँगो मूल्यमा उद्योगले मकैको बोट सहित किनिदिने र उद्योगबाट उत्पादित साइलेज (कृषि घाँस) पनि बजारमा पाइने ढुटो, चोकर, दानाभन्दा सस्तो भएकोले किसानहरूको माग बढी रहेको सञ्चालक थापाले बताउनुभयो । 

हाल स्थानीय किसानका अतिरिक्त पोखरा, काठमाडौँ, बुटवल, लुम्बिनी क्षेत्रबाट सो घाँसको माग भइरहेको उहाँले बताउनुभयो । व्यावसायिक तथा साना किसानहरूका लागि पनि यो घाँस महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।

हाल उद्योगमा ७५ लाख लगानी भइसकेको छ भने २५ लाख  लगानीकै क्रममा रहेको उद्योगका सञ्चालक सुजिन्द्र बहादुर थापाले जानकारी दिनुभयो । 

रत्ननगर नगरपालिकाले कृषि उद्योगका लागि साइलेज निर्माण तथा कष्टम ह्यारिङ सेन्टर र उपकरण खरिदका लागि करिब २५ लाख रूपैया अनुदान दिएको समेत थापाले जानकारी दिनुभयो ।

आज सो उद्योग परिसरमा आयोजित एक कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उद्योगको उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै उहाँले कृषिमा आधुनिकीकरण र आत्मनिर्भरताको लागि नगरपालिका सधैँ किसानको साथमा रहेको बताउनुभयो । 

सो कार्यक्रममा उप–मेयर विमला दुवाडी, वडा नं. १२ का अध्यक्ष विर बहादुर पाख्रिन, वडा नं. ३ का अध्यक्ष गोविन्द प्रसाद भट्टराई, रत्ननगर नगरपालिका पशु सेवा कार्यालयका प्रमुख सालिकराम पौडेल, जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका सचिव किशोर बगाले लगायतले कार्यक्रम मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button