तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय जेलमा बिना कसुर ४० वर्ष थुनिएका दुर्गाप्रसादको स्वास्थ्य जटिल बन्दै

झापा । भारतीय जेलमा बिना कसुर ४० वर्ष बिताएपछि घर ल्याइएका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । माई–१० लुम्बाकमा परिवारसँगै बस्दै आएका उनलाई परिवार र समाजमा घुलमिल हुन समस्या भइरहेको अवस्थामा उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको हो ।

दुर्गाप्रसादको बोलीचाली र व्यवहार सुरुमा सहज भए पनि अहिले जटिल बनिरहेको पारिवारिक सदस्यहरु बताउँछन् । उनी मानसिक बिरामी झंै नालीको पानी उठाउँदै पिउने, आफ्नै सुत्ने कोठामा पिसाब गर्ने, घरका अन्य सदस्यलाई कुट्न झम्टिने, घरमा थाह नदिई टाढा–टाढासम्म घुम्ने लगायतका अनौठो कार्य गर्न थालेका छन् ।

‘पहिला–पहिला अधिकांश समय मानसिक रूपमा ठिक अवस्थाको बोली–व्यवहार थियो’– दुर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले भने– ‘दिन बित्दै गएपछि उहाँको अवस्था झन्–झन् असहज र जटिल बन्दै छ ।’ गोपाल भन्छन्– घरमा खाना खुवाउन, लुगा लगाउन, सरसफाइ लगायतका काम गराउन ठूलो बुवालाई केही साता यता गाह्रो परिरहेको छ । गोपालले भने– ‘चिकित्सकले बिस्तारै मानसिक अवस्था ठिक हुन्छ भन्ने सल्लाह दिएका थिए तर अवस्था चाहिँ झन्–झन् बिग्रिँदै गएको छ ।’

उनलाई गत वैशाखमा विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको थियो । ‘चिकित्सकले उहाँको मानसिक अवस्था ठिक छ, बिस्तारै सुधार हुन्छ भनेका थिए ।दुर्गाप्रसादले घर छाडेर हिँडेपछि परिवार तत्कालीन एकतप्पा गाउँ पञ्चायतबाट माई नगरपालिका–१०, लुम्बाकमा बसाइँ सरेको थियो । दुर्गाप्रसाद बेला–बेला छाडा शब्द बोल्दै मेरो घर एकतप्पा हो, एकतप्पा नै जान्छु, मलाई भारतको जेलमै पु¥याइदिनू भन्दै झगडा गर्ने, बरबराउने गर्छन् । अभद्र कुरा र कार्य गर्दै परिवारलाई समेत त्रसित बनाउँछन् ।

स्थानीय समाजसेवी शिवप्रसाद अधिकारीले दुर्गाप्रसादलाई लामो समय उपचारका लागि अन्यत्र लानु पर्ने अवस्था भएको बताएका छन् । उनले एक पटक सबै सहयोगी निकाय र व्यक्तिलाई दुर्गाप्रसादको अवस्था हेरिदिन समेत आग्रह गरे ।दुर्गाप्रसादलाई १ नम्बर प्रदेश सरकारमार्फत गत वैशाखमा विराटनगरस्थित बिराट मेडिकल कलेजमा १७ दिन अस्पतालमै राखेर उपचार गरिएको थियो भने माई नगरपालिकाले ५० हजार नगद र यातायात खर्च १७ हजार रुपैयाँ प्रदान गरेको थियो ।

गोपाल भन्छन्– ‘धेरै सङ्घ–संस्थाले ठूलो बुवाको लागि सहयोग गर्ने गरेको भएता पनि उहाँले पाएको ४० वर्षको बिना कसुर सजायको क्षतिपूर्ति दिलाउन कसैबाट सहयोग नपाएको गुनासो गरे । उनले भने– क्षतिपूर्ति आए त्यसैबाट ठूलो बुवाको उपचार गर्ने थियौँ ।’

दुर्गाप्रसाद २० वर्षको उमेरमा २०३७ साल माघमा घर छोडी बेपत्ता भएका थिए । घर छोडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा उनी जेल परे । उनी गत फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिएका हुन् । विभिन्न सङ्घ–संस्थाको पहलमा उनलाई गत चैत ८ मा आफ्नी वृद्ध आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो ।

सन् १९८१ मै जेल परेका उनको मुद्दामा कुनै सुनुवाइ नै भएन । यसरी लामो समय जेलमै कोचिएको थाह पाएपछि कोलकाता हाई कोर्टले महावाणिज्य दूतावासमार्फत ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउने गरी गत चैत ७ मा उनलाई रिहा गरेको थियो । चिकित्सकले उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहार मात्र गर्न सक्ने रिपोर्ट दिएका थिए । जेलबाट छुटेपछि दुर्गाप्रसादले आफूले हत्या गरेको नभई कसैले फसाएको बताएका थिए ।

एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) का दुर्गाप्रसाद मङ्गलवारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका थिए । त्यस यता बेपत्ता उनी जिउँदै छन् या छैनन् भन्ने नै परिवारजनलाई थाहा थिएन । घरबाट हिँडेपछि उनी दार्जिलिङमा रोजगारी गरिरहेको अपुष्ट खबर आएको थियो ।

तर, दार्जिलिङमा त्यति बेला गोर्खाल्याण्ड आन्दोलन चलिरहेकाले त्यहीँ उनको मृत्यु भएको अनुमान परिवारलाई थियो ।१० वर्षअघि दुर्गाप्रसादसँगै जेलमा बसेका भारतीय नागरिक राधेश्याम दासले आफू पुनः अर्को मुद्दामा गत जनवरीमा जेल पुग्दा दुर्गाप्रसादलाई पहिलाकै हालतमा भेट्टाएका थिए । त्यसपछि उनले भारतकै वेस्ट बङ्गाल रेडियो क्लबमा दुर्गाप्रसादको अवस्थाबारे खबर गरेका थिए ।

यस्तो खबर आएपछि रेडियो नेपालका विभिन्न संयन्त्रसँग उनको वास्तविक ठेगानाबारे सूचना लिने प्रयास गरेको थियो । जेल र अदालती कागजमा ‘दीपक जोशी’ नाम उल्लेख भएका दुर्गाप्रसादको वास्तविक नाम, ठेगाना र परिवार त्यसपछि पत्ता लागेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button