मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना चालकको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसलाई उछिन्न खोज्दा सप्तरीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा सप्तरीको शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीय बुधसागर चौधरी र सिराहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशंकर यादवको सोमबार राति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
चौधरीले चलाएको स ११ प ४०३८ नम्बरको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ–७ का २८ वर्षीय आनन्द चौधरी र यादवले चलाएको प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल पछाडि सवार सिराहाको लहान–२० की २३ वर्षीय सोनम चौधरी घाइते भएका छन् । उनीहरूको लहानमा उपचार भइरहेको छ ।
बा २ ख ५६८२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ । बस गइरहेकै दिशातर्फ जाँदै गरेको स ११ प ४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बायाँ तर्फको ह्याण्डिल बसमा ठोक्किएर अनियन्त्रित भएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो ।
अनियन्त्रित भएको सो मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको र प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो । डिएसपी काफ्लेका अनुसार बुधसागर चौधरीको घटनास्थलमै र रामशंकर यादवको सप्तऋषी अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भयो ।
मृतकको शव लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्