तपाईँ सुन्दै हुनुहुन्छः

खोप नपाएको भन्दै पाल्पामा शैक्षिक गतिविधिहरू बन्द

पाल्पा । नेपाल शिक्षक महासंघ पाल्पाले शिक्षकहरूको लागि कोरोना विरुद्धको खोप उपलब्ध नभएसम्म जिल्लाका शैक्षिक गतिविधिहरू बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षकहरूको पेसागत संघ, सङ्गठनहरूको संयुक्त बैठकले खोप उपलब्ध नभए सम्म बोर्ड परीक्षा, अनलाइन तथा अफलाइन कक्षा लगायत सबै प्रकारका शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको हो । 

महासंघले सरोकारवाला निकायहरूको ध्यानाकर्षणसहित जिल्ला प्रशासन कार्यालय पाल्पा तथा स्वास्थ्य कार्यालय पाल्पामा ज्ञापन पत्र समेत बुझाएको छ ।महासंघले शिक्षक कर्मचारीहरूको उच्च मनोबलका लागि कोभिड विरुद्धको खोपको व्यवस्था नहुँदासम्म कक्षा ११ को परीक्षा स्थगित गर्ने, राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न तय गरेको कक्षा १२ को परीक्षामा समेत सहभागी नहुने तथा सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको नेपाल शिक्षक महासंघ जिल्ला समिति पाल्पाका अध्यक्ष धनकला गाहाले बताउनुभयो । 

बैठकले बिहीबार र शुक्रवार जिल्ला शिक्षा समन्वय इकाईमा २ घण्टा धर्ना दिने निर्णय गरेको गाहाले बताउनुभयो ।नेपाल राष्ट्रिय शिक्षक सङ्गठन लुम्बिनी प्रदेश अध्यक्ष बिष्णु पोखरेलले शिक्षकहरूलाई खोपको व्यवस्था नहुँदासम्म शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले शिक्षक तथा कर्मचारीहरूलाई सबैलाई नपुग्दासम्म थोरै मात्रामा उपलब्ध खोप नलगाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button