तपाईँ सुन्दै हुनुहुन्छः

रक्तसञ्चार सेवा दिवसको अवसरमा रक्त समूह पहिचान

अछाम । अछाममा रक्तसञ्चार सेवा दिवसको अवसरमा रक्त समूह पहिचान गरिएको छ । 

नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको दिनको सम्झनामा नेपाल रेडक्रस सोसाइटी र अछाम जेसिजको आयोजनामा ५५ औँ रक्तसञ्चार सेवा स्थापना दिवस मनाइएको हो । 

दिवसको अवसरमा रक्त समूह पहिचान गरिएको छ । जिल्ला अस्पताल अछाममा विभिन्न व्यक्तिहरूले आफ्नो रक्त समूह पहिचान गरी आवश्यक परेको बेला रक्तदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी अछामका मन्त्री ध्रुव कुमार शाहीले रेडक्रसले जिल्लामा रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको र यसलाई थप व्यवस्थित पार्दै लगिने बताउनुभयो । 
आफ्नै परिवारका सदस्य बिरामी पर्दा पनि रक्तदान नगर्ने प्रवृत्ति रहेको भन्दै रक्तदानप्रति सबैले सकारात्मक धारणा विकास गर्नुपर्ने बताउनुभयो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, अछाम जेसिज, अछाम सेवा समाज, दारी ग्याङ लगायतका सामाजिक संस्थाबाट रक्तदानमा सकारात्मक पहल तथा कार्य भइरहेको उहाँले बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खनालले पछिल्लो समय जिल्ला अस्पतालको सेवा गुणस्तरीय, सुधार तथा विश्वसनीय हुँदै गइरहेको भन्दै रगतको माग समेत बढिरहेको बताउनुभयो । अब सबैले रक्तदान गर्ने भावनाको विकास गराउँदै सबैले मानवताको नमुना प्रस्तुत गर्नुपर्ने उहाँको भनाई छ ।

जिल्ला अस्पताल अछामका प्रमुख डा.सोनाली बास्कोटाले विभिन्न निकायबाट रक्तदानका कार्य हुनु सकारात्मक कार्य भएको भन्दै स्वास्थ्यकर्मीलाई तालिमका व्यवस्था गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

सुलभ, गुणस्तरीय र मर्यादित सेवा ः नेपालको रक्तसञ्चार सेवा भन्ने नाराका साथ आज देशैभर ५५औँ रक्तसञ्चार सेवा दिवस मनाइएको नेपाल रेडक्रस सेसाईटीका कार्यक्रम संयोजक खेम भट्टराईले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button