कुखुरा पालन व्यवसाय सम्बन्धी पाठ्यक्रममा आधारित सुझाव सङ्कलन

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रका कुखुरा पालक कृषकहरूबाट कुखुरा पालन व्यवसाय सम्बन्धी पाठ्यक्रममा आधारित सुझाव सङ्कलन गरिएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा निड्स नेपालद्वारा सञ्चालित बजारमा आधारित प्राविधिक तथा व्यावसायिक सीप प्रवर्द्धन परियोजना अन्तर्गत तीन महिने पोल्ट्री फार्म वर्कर तालिम पाठ्यक्रमका लागि सुझाव सङ्कलन गरिएको दक्षता परियोजनाका संयोजक विनोद सिंह कडाराले जानकारी दिनुभयो ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा परियोजनाले तीन महिने पोल्ट्री फार्म वर्कर तालिम सञ्चालन गरेको छ ।
उक्त तालिममा पुनर्वास नगरपालिकाका २० जना र बेलौरी नगरपालिकाका २० जना युवा प्रशिक्षार्थीहरूलाई तालिम दिइएको छ ।

कार्यक्रमको सहजीकरण अधिवक्ता झङ्कर कुँवरले गर्नुभएको छ । सो कार्यक्रममा निड्स नेपालका प्रतिनिधि मनराज उपाध्याय, कुखुरा पालक व्यवसायीहरू, तालिम प्रशिक्षकहरू र प्रशिक्षार्थीहरूको उल्लेख्य सहभागितामा पाठ्यक्रम संशोधन सम्बन्धी सुझाव सङ्कलन गरिएको छ ।
सुझाव सङ्कलन कार्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) सुदूरपश्चिम प्रदेश कार्यालयले समेत प्राविधिक सहयोग गरिरहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुनर्वास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्त कुमार चौधरीले पछिल्लो समयमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विभिन्न किसिमका सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको र ती तालिममा सहभागी भएका व्यक्तिहरूले प्राप्त गरेको सीपको सदुपयोग गरेमा मात्रै पनि केही हदसम्म बेरोजगारी समस्या कम हुने उल्लेख गर्नुभयो ।
कुखुरा पालन सम्बन्धी पाठ्यक्रमले व्यवसायीहरूलाई निक्कै सहयोग पुग्ने उहाँको अपेक्षा रहेको छ ।
पाठ्यक्रम संशोधनका लागि सङ्कलित सुझाव सहितको प्रतिवेदन सिटिभिटीको सुदूरपश्चिम प्रदेश कार्यालयमार्फत केन्द्रमा बुझाइने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्