जुम्लामा ३२ करोड ९८ लाख राजश्व असुली

जुम्ला । जुम्लामा आर्थिक वर्ष २०७७/०७८ को राजश्व सङ्कलन लक्ष्य भन्दा बढी भएको छ । कोरोना कहरका बीच पनि राजश्व सङ्कलन उत्साहजनक रुपमा भएको हो । आन्तरिक राजश्व कार्यालय जुम्लाले विभिन्न शीर्षकमा आव २०७७/०७८ मा ३२ करोड ९८ लाख ९८ हजार अर्थात् १२९ प्रतिशत राजश्व सङ्कलन गरेको हो । जुम्लामा लक्ष्य भन्दा ७ करोड अर्थात् २९ प्रतिशत बढी राजश्व सङ्कलन भएको हो ।
आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत यूवराज बस्नेतले भन्नुभयो,“आव २०७७/०७८ वार्षिक राजश्व सङ्कलनका लक्ष्य २५ करोड ५४ लाख ४३ हजार थियो । कोरोनाले लक्ष्य नभेटिने चिन्तामा थियौ । तर तेस्रो चौमासिक यता राजश्व सङ्कलन उल्लेखनीय रुपमा वृद्धि भई लक्ष्य भन्दा त ७ करोड बढी राजश्व उठेको छ ।”
आन्तरिक कर परिक्षण तथा अनुसन्धानलाई बढाउँदा र करको दायरालाई विस्तार सँगै गाउँगाउँमा कर शिक्षा दिएकै कारण लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको कर अधिकृत बस्नेतको भनाई छ ।
सरकारी ठेक्का पट्टाको मुल्यअभिबृद्धि कर भुक्तानी गर्दा भएको भएको मुअ कर गएको जेठ १५ सम्म ५० प्रतिशत र जेठ १५ पछि ३० प्रतिशत रकम दाखिला गर्दा राजश्व सङ्कलन ह्वात्तै बढेको कार्यालयले जनाएको छ ।
साथै, बितेको आर्थिक वर्षमा जुम्लामा २ हजार १ सय ५१ जना करदाता थपिएका छन् । जसमा भ्याटतर्फ १ सय ८६ जना, आयकरतर्फ १८ सय ६१ ज्ना र अन्तःशुल्क तर्फ २ सय ३१ गरी २ हजार १ सय ५१ ज्ना थपिएका हुन् ।
आन्तरिक राजश्व कार्यालयको तथ्याङ्क अनुसार हालसम्म जुम्लामा कुल ११ हजार ८ सय ८३ जना करदाता रहेका छन् । जसमा सबैभन्दा बढी आयकरमा ११ हजार २५ जना छन् भने, भ्याटमा १ हजार २ सय ७५ र अन्त शुल्कमा ४ सय ८० जना रहेका छन् ।
कुन शीर्षकबाट कति उठ्यो राजश्व ?
आन्तरिक राजश्व कार्यालय जुम्लाले विभिन्न २८ वटा शीर्षकबाट राजश्व सङ्कलन गर्दै आएको छ । जसमा सबैभन्दा बढी परामर्श तथा ठेक्का पट्टा शीर्षकबाट ११ करोड २४ लाख ९ हजार राजश्व सङ्कलन भएको छ । त्यस्तै,पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबाट २ करोड ८२ लाख ७६ हजार,अन्तःशुल्क मदिराबाट ५९ लाख ४७ हजार ७ सय, वस्तु विक्री तथा वितरण बापत२ करोड ९८ लाख ५१ हजार २ सय,पारिश्रमिक कर ६ करोड ९२ लाख ३३ हजार ८ सय राजश्व उठेको छ ।
साथै, प्राइभेट लिमिटेड कम्पन्नीहरुबाट ३८ लाख ६९ हजार सम्पत्ति बहाल तथा पट्टा बापत आयमा लाग्ने कर ६२ लाख ५६ हजार ३ सय ब्याजमा लाग्ने कर २७ लाख ९९ हजार ५ सय राजश्व सङ्कलन भएको छ ।
त्यस्तै, एकलौटीफर्म तथा व्यक्तिगत आयमा लाग्ने कर६ करोड ४३ लाख ४१ हजार ४ सय,पुँजीगत लाभकर बापत ४ लाख ६० हजार लगायतका २८ वटा शीर्षक गरी लक्ष्यभन्दा २९ प्रतिशतले बढेर ३२ करोड ९८ लाख ९८ हजार राजश्व सङ्कलन भएको कर अधिकृत यूवराज बस्नेतले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्