जनकपुरधामका शिव मन्दिरहरूमा भक्तजनको भिड

जनकपुरधाम । जनकपुरधामको शिव मन्दिरहरूमा पूजापाठ गर्नका लागि भक्तजनहरूको भिड लागेको छ ।
जनकपुरधामको शिव चोकमा रहेको शिव मन्दिर, स्वर्गद्वारको भूतनाथ मन्दिरका साथै जनकपुरधामको चार कुनामा रहेको प्राचीन शिव मन्दिरहरूमा भक्तजनहरूको बिहानैदेखि भिड लागेको छ ।
त्यस्तै, जनकपुरधामको पूर्वमा रहेको कपिलेश्वरना, दक्षिणमा रहेको कुपेश्वरनाथ, उत्तरतर्फ रहेको क्षिरेश्वरनाथ तथा पश्चिम दक्षिण कोनामा रहेका जलेश्वरनाथमा पूँजाअर्चनाका लागि भक्तजनहरूको भिड लागेको छ ।
कोरोना महामारीको अवस्थामा सुधार आएको भए पनि जोखिम कायम रहेको भन्दै मन्दिरहरूमा मास्क लगाएर भक्तजनहरूले पूजा अर्चना गरिरहेका छन् । औपचारिक रुपमा मन्दिरहरू खुल्ला नभए पनि भक्तजनहरू आफै पुगेर पूजा अर्चना गरिरहेका छन् ।
साउन महिनाको सोमबार बिहान स्नान गरेर महिलाहरू व्रत बसी रातो तथा हरियो लुगा, गरगहनाहरू लगाएर भगवान् शिवको विशेष पूजापाठ गर्ने गर्दछन्।
साउन महिना भगवान् शिवको महिना भनेर चिनिने र साउनको सोमबार पतिको दीर्घायु, सुस्वास्थ्यको कामनासहित सधवा महिलाले शिवको उपासना गर्ने गरेका छन् भने विधवा महिलाहरूले परिवार जनको सुख शान्ति, समृद्धिको कामनासहित व्रत बस्ने चलन रहेको छ ।
साउन महिनाको सोमवार शिवको उपासना गर्नाले विशेष फल प्राप्त हुने भएकाले पुरुषहरूले पनि पहेँलो वस्त्र धारण गरेर आज शिवको विशेष पूजापाठ गर्ने गरिन्छ ।

आज शिवको प्रीय भएका भाङ, धतुरो, बेलपत्र, दूध, घ्यु, फूल, अक्षत सहित जल अर्पण गरेर पूजा गर्ने चलन रहेको छ ।
भक्तजनहरूले साउन महिनामा शिव मन्दिरहरूमा भाकल अनुसारको सामाग्रीहरू अर्पण समेत गर्ने गर्दछन् ।
खास गरेर मिथिलाञ्चलबाट ठूलो सङ्ख्यामा भारतको झारखण्डमा रहेको बाबा धाममा कामरीयाहरु कामरसहित जल अर्पणका लागि जाने गरेकोमा गत वर्षदेखि कोरोना महामारीका कारणले नेपाल भारतको सीमा नाका बन्द रहेकाले निक्कै कम मात्रामा पुग्ने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्