तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामबाट चल्ने लामो दुरीका सवारी साधन सञ्चालनको अनुमति

जनकपुरधाम । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले जनकपुरधामबाट सञ्चालन हुने मध्यम तथा लामो दूरीको सार्वजनिक सवारी साधन सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको छ । 

यसअघि धनुषा, महोत्तरी जिल्लामा चल्ने छोटो दूरीका मात्र सवारी साधन सञ्चालनमा आएका थिए ।  
खास गरेर त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग सहितको निकायहरूको परीक्षा सञ्चालन हुने भएकाले गृह मन्त्रालयले सहजीकरणको लागि पत्राचार भएकाले बन्द रहेको मध्यम तथा लामो दूरीको सवारी साधन खोल्ने निर्णय भएको छ । 

कोरोना महामारीका कारणले करिब अढाई महिनादेखि बन्द रहेका लामो तथा मध्यम दूरीका सवारी सञ्चालनको निर्णयलाई व्यवसायीहरूले स्वागत गरेका छन् । 

सार्वजनिक सवारी साधन खुल्ला गर्ने निर्णय गरे पनि सार्वजनिक सवारी साधनले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न लगाउने निर्णय गरेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । 

सवारी साधनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको छ कि छैन त्यसको अनुगमन नेपाल प्रहरीले गर्ने र नगरेको पाइएमा आर्थिक रुपमा दण्डित गर्ने निर्णय पनि बैठकले गरेको छ । 

बैठकले कोरोनाको सङ्क्रमणको दर घटे पनि जोखिम कायमै रहेकाले सेवा लिनका लागि आउने सेवाग्राहीहरूलाई कार्यालय प्रवेश गर्दा मास्क अनिवार्य गर्ने, प्रादेशिक अस्पताल, जानकी मेडिकल कलेज एवं शिक्षण अस्पताल, निजी स्वास्थ्य संस्थाहरू, स्थानीय तहले सञ्चालन गरेको कोरोना अस्पतालमा कोरोनाका संक्रमित नभए पनि तेस्रो लहर आउने जोखिम रहेकाले भएको अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालन गरिनै राख्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ । 

यसै गरी धनुषा जिल्लामा जारी रहेको निषेधाज्ञाको अवधि बढाएर साउन २० गतेसम्म थप गर्ने निर्णय गरेको छ ।  धनुषमा अब कलेज, विद्यालय, कोचिङ सेन्टर, लोकसेवा आयोगका तयारी कक्षा, ट्युसन सेन्टर बाहेकका सबै कुरा खुल्ला भइसकेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button