तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशको मन्त्रिपरिषद् बिस्तार

पोखरा । सरकार गठनको एक महिनापछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । 

गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज नियुक्त हुनुभएका ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ  ।

नवनियुक्त मन्त्रीहरूमा माओवादीबाट रामजी बराल अर्थ, दीपक चर्तीमगर वन, वातावरण तथा भूसंरक्षण र चन्द्रबहादुर बुढा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको छ । 

यस्तै काङ्ग्रेसबाट सांसद मणिभद्र शर्मा कँडेल पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला र मेखलाल श्रेष्ठ सामाजिक विकास मन्त्रीमा नियुक्त हुनुभएको छ ।

नयाँ मन्त्रीको नियुक्तिसँगै गण्डकी प्रदेश सरकारमा ११ सदस्यीय मन्त्री मण्डल बनेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले २९ जेठमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । सोही दिन उहाँसँगै ४ जनाले विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको थियो । 

काङ्ग्रेसबाट कुमार खड्का, जनता समाजवादी पाटी (जसपा)का हरिशरण आचार्य, माओवादी केन्द्रका मधुमाया अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको थियो । पछि जसपाका आचार्यलाई ऊर्जा तथा सिँचाइ, माओवादीकी अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या र स्वतन्त्र सांसद मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको थियो । सोही समयमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएका कुमार खड्कालाई अहिले भने भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button