पर्वतमा खाद्यान्न उत्पादनमा वृद्धि

पर्वत । पछिल्लो दुई वर्षयता पर्वतमा बाँझो जमिनमा पनि खेती गर्न थालिएको छ ।
कोरोना सङ्क्रमणपछि विदेशबाट फर्किएका र बजारमा बस्ने मानिसहरू गाउँमा फर्किएर खेतीपाती गर्न थालेपछि पर्वतमा खाद्यान्न उत्पादन समेत बढ्न थालेको छ ।
कृषि ज्ञान केन्द्रले खेतीयोग्य जमिन उपयोग भएपछि उत्पादन बढेको र जिल्ला खाद्यान्नमा आत्मनिर्भर भएको जनाएको छ ।
खेतीयोग्य जमिनको एक तिहाइ क्षेत्रफलमा तीन खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रले गत वर्षको प्रगति सार्वजनिक गर्दै खाद्यान्न उत्पादनमा जिल्ला आत्मनिर्भर भएको र तरकारी र फलफूलमा समेत जिल्ला आत्मनिर्भरोन्मुख रहेको दाबी गरेको छ ।
केन्द्रका प्रमुख मनिता थापाले धान, गहुँ, मकै र कोदो उत्पादनलाई आधार मान्दा पर्वतको जनसङ्ख्यालाई पुगेर केही खाद्यान्न बचत हुने गरेको बताउनुभयो ।
“जिल्लाको उत्पादन जिल्लाभित्रै उपभोग गर्दा पुग्ने स्थितिमा गएका छौँ, उहाँले भन्नुभयो, पछिल्लो दुई वर्षमा उत्पादित क्षेत्र र फसल उत्पादन बढेको तथ्याङ्क आएको छ ।”
जिल्लामा उत्पादन भएको ३ हजार ६ सय ३० मेट्रिक टन खाद्यान्न बचत हुने उहाँले बताउनुभयो ।
२०६८ को जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या १ लाख ४६ हजार ५ सय ९० छ । एक व्यक्तिले वर्षमा २ सय १ किलो खाद्यान्न, १ सय २६ किलो तरकारी र १ सय ४४ किलो फलफूल खपत गर्ने कृषि प्राविधिकको अनुमान छ ।
सोही अनुमानका आधारमा खाद्यान्नको माग वर्षमा २९ हजार ४ सय ६५ मेट्रिक टन, तरकारी १८ हजार ४ सय ७० र फलफूल २१ हजार १ सय ६५ मेट्रिक टन छ ।
जिल्लामा धान, मकै, कोदोलगायत खाद्यान्न ३३ हजार ९५ मेट्रिक टन उत्पादन हुन्छ । १४ हजार ३ सय मेट्रिक टन तरकारी र १२ हजार १ सय ६५ मेट्रिक टन फलफूल उत्पादन हुने गरेका छ ।
पछिल्लो समय उत्पादनमा आधारित अनुदान, युवा लक्षित कार्यक्रम, अनुदानलगायत कार्यक्रमको प्रभावले खाद्यान्न, तरकारी र फलफूलको उत्पादन बर्सेनि बढिरहेको केन्द्रका प्रमुख थापाको दाबी छ ।
चालु आर्थिक वर्षमा मात्रै १ लाख ११ हजार ४ सय १० विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार साढे ८ हजार हेक्टरमा लगाइएको धान खेतबाट अन्दाजी ३० हजार टन धान उत्पादन हुन्छ । यो जिल्लाको जनसङ्ख्याले वर्षभरिमा खपत गर्ने खाद्यान्नको करिब ४० प्रतिशत हिस्सा हो । बाँकी मकै, कोदो, गहुँलगायतका खाद्यान्नबाट आपूर्ति हुन्छ ।
किसानहरूलाई ज्ञान केन्द्र र नगरपालिकाको सहयोगले उत्पादनमा हौसला मिलेको फलेवास ३ का किसान शिव अधिकारीले बताउनुभयो ।
जिल्लामा खेतीयोग्य जमिन २८ हजार हेक्टर छ । पछिल्लो पुस्ता भारतमा मात्रै भर पर्ने भएकाले तराईलगायत भारतबाट चामल आयात हुन भने छोडेको छैन । मकै, कोदो, गहुँलगायत खाद्यान्नहरू मदिरालगायत गैर खाद्य पदार्थ उत्पादनमा खर्च हुने हुँदा चामल आयात गर्नुपरेको कृषि विज्ञको तर्क छ ।








प्रतिक्रिया राख्नुहोस्