तपाईँ सुन्दै हुनुहुन्छः

जीर्ण पुलका कारण आवतजावतमा समस्या

कञ्चनपुर। दोधरा चाँदनी नगरपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म आवतजावत गर्न महाकाली नदीमाथि बनाइएको झोलुङ्गे पुल जीर्ण भएको छ । पुलका विभिन्न ठाउँका स्टिल डेक र स्टिल डेकमुनिका सपोर्ट एङ्गल टुटेका छन् । ठाउँ ठाउँमा पुल ठड्याउन राखिएका नटबोल्ट पनि खसेका कारण कुनै बेला पनि दुर्घटना हुनसक्ने देखिन्छ ।

मोटरसाइकल र साइकलमा पुलको क्षमताभन्दा बढी सामान बोक्ने गरेका कारण पुल जीर्ण भएको हो । पुलका स्टिल डेक ठाउँ ठाउँमा टुट्दा पनि यस्ता सवारी साधनको आवागमन भने जारी छ । पुल जीर्ण बनेकाले नगरपालिकाले दुर्घटना हुन नदिन स्थनीयवासीलाई सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरेको छ ।

“मोटरसाइकलमा चालकसहित दुई जना मात्र आवतजावत गर्न सुरक्षामा खटिएका प्रहरीले भनेका छौँ”, नगरप्रमुख वीरबहादुर सुनारले भन्नुभयो, “मोटरसाइकलमा सामान ढुवानी गर्दा अधिकतम ५० किलोसम्म सामान पुल भएर बोक्न दिइने व्यवस्था गरिएको छ । दूध बोक्ने मोटरसाइकलमा भने भारको अधिकतम भार नदेखिने हुँदा त्यसलाई नियन्त्रण गर्न सार्वजनिक सूचना जारी गरिएको र पुल मर्मतका लागि पहल पनि भइरहेको छ” ।

दुई वर्षअघि सुदूरपश्चिम सरकारले रु ६० लाखको लागतमा ठेक्कामार्फत पुल मर्मत गरिएको थियो । डडेल्धुराको खाम्पाचे/देवभूमि कन्स्ट्रक्शन तथा क्वालिटी सप्लायर्स अमरगढी–५ जेभीले पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः जीर्ण भएपछि दोधारा चाँदनी नगरपालिकाले पुनः मर्मत गरेको थियो ।

महाकाली नदीपारिको उक्त नगरपालिका जोड्ने एक हजार ४५२ मिटरको नेपालकै सबैभन्दा लामो सो पुल विसं २०६१ मा रु नौ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button