हरेक बर्ष बगाउँछ धान फल्ने खेत

तनहुँ । शुक्लागण्डकी नगरपालिका–१० की चोलाकान्ती मरासेनीको खेत छेउमा घर छ । गत बर्ष भुल्के खोल्सामा आएको खहरेले उहाँको आधा खेतमा क्षति पुर्यायो । बाढीले आधा बगाए पनि आधा खेती जोगिँदा जसोतसो उहाँको मन बुझेको थियो । यसपाला कसै गरी मन बुझाउने ठाउँ छैन उहाँको ।
भुल्के खोल्सामा आएको खहरेले सात रोपनी खेतमा बाढी पस्यो । भर्खर रोपेको धानको रोपो बगाएपछि यो वर्ष अन्नको जोहो कसरी गर्ने चिन्ता छ उहाँलाई । ट्याक्टर सहित हली बाउसेलाई नगदै दिएर रोपाई गरेको खेत क्षणभरमै बगरमा परिणत भएपछि मरासेनीको भकारी यसपालि रित्तै हुने स्थिति सिर्जना भएको छ ।
खाद्यान्न सङ्कट पर्ने पिरले सताएको उनले बताउनुभयो । “कमाउने कोही छैन, मेलापात गर्न पनि सकिदैन् । खै अब के गर्ने र ?” मरासेनीले भन्नुभयो “सात रोपनी खेत पुरै बगरले ढाक्यो । गरेर खाने हामी त मरिने भइयो ।”
शुक्लागण्डकी नगरपालिका–१० पिप्लेडिहीका किसान कृष्णराज पौडेलको पनि पिडा उस्तै छ । चैतमा रोपेको धानको बाला लहलह झुल्दै थियो । थन्क्याउने तयारी गर्दै थिए पौडेल परिवार । १५ मुरी बढी चैते धान थन्काउने उनको सपना परेको भीषण वर्षाले बगाई दियो । “१५ मुरी आउने खेतमा धान पाकेको थियो । २५ मुरी फल्ने खेतमा भर्खर रोपेका थियौँ । मकै पनि पाकेको थियो । केही नरहने गरी माथिबाट आएको पहिरोले खेत बगर बनाएको छ”, उहाँले भन्नुभयो ।
पसिना र रगत बगाएर रोपेको खेत बाढीको आतङ्कले बगरमा परिणत भएपछि उनलाई छट्पटि भइरहेको छ । भोक निन्द्रा सबै हरेको छ । “अब वर्षभरि के खाने ? बगरको थुप्रो हटाएर फेरी पहिलाको जस्तै रोप्न मिल्ने कसरी बनाउने ? यही चिन्ताले मन पोलेको छ”, पौडेलले सुनाउनुभयो ।
मरासेनी र पौडेल जस्तै जिल्लाका अधिकांश किसानका खेतमा असारमा आएको बाढी पहिरोले तहसनहस बनाएको छ । लहलह धान झुल्ने खेतको गह्रामा बगरको थुप्रो छ । न पाकेको धान थन्क्याउन पाए किसान । न त भर्खर रोपेको रह्यो । चैते धान थन्काएर असारे रोप्नलाई राखेको धानको बिउ पनि बाढीले पुरेको छ ।
जिल्लामा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ८ र १० मा किसानले लगाएको धान बालीमा बढी क्षति पुगेको छ । यस बर्ष अत्यधिक पानी परेपछि बढेको मान्द्रे खोलाले एक हजार रोपनी बढी धान खेत पुरेको शुक्लागण्डकी नगरपालिका–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभयो । “यसपालि खेतभन्दा दुई मिटर माथिबाट खोला हिँड्यो । कतै पाकेको धान, कतै रोपो सहितको बगाएको छ’, उहाँले भन्नुभयो, ‘हामीले क्षतिको विवरण सङ्कलन गरेका छौँ । किसानलाई आवश्यक तटबन्ध गर्ने आश्वास पनि दिएका छौँ । तर, क्षति धेरै भएकाले वडाले केही गर्न सक्ने अवस्था छैन ।”
बर्षात पछिको खहरे र बाढीले क्षति पुर्याएपछि धान रोप्न नमिल्ने खेतमा तिल छरेर क्षति कम गर्ने योजना शुक्लागण्डकी नगरपालिकाले बनाएको छ । नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले धान रोप्न मिल्ने स्थानमा गेग्रान फालेर पुनः धान रोप्न किसानलाई सुझाव दिएको बताउनुभयो । धान रोप्नै नमिल्ने स्थानमा तिल छर्न सहयोग गर्ने उनले जानकारी दिनुभयो । क्षतिको यकिन तथ्याङ्क प्राप्त हुने वित्तिकै किसानले आर्थिक रुपमा व्यहोरेको नोक्सानी अनुसार राहत उपलब्ध गराउने उहाँको भनाई छ ।
जिल्लाभर यो बर्ष बाढी पहिरोले झण्डै ६ सय हेक्टर क्षेत्रफलमा लगाएको धानखेतमा क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले तीन सय हेक्टर भन्दा बढी धान खेती पूर्ण रुपमा नष्ट भएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन सय हेक्टर हाराहारीमा आंशिक क्षति भएको छ । ज्ञान केन्द्रले क्षति भएको धान खेतको निरीक्षण गरी विवरण सङ्कलन गरेको बताउनुभयो । उहाँले किसान मर्कामा परकाले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर राहतको पहल गर्ने बताउनुभयो । “अहिले स्थानीय तहहरू आफैँमा स्वायत्त छन् । किसानलाई राहत दिने व्यवस्था त्यहीबाट पनि हुनुपर्ने हो”, तिवारीले भन्नुभयो ।
ज्ञान केन्द्रका अनुसार शुक्लागण्डकी नगरपालिकाको मान्द्रे, फिर्दी लगायतका फाँटमा झण्डै दुई सय बढी हेक्टर खेत पूर्ण रुपमा नष्ट भएको छ । म्याग्दे गाउँपालिकामा म्याग्दे खोलामा आएको बाढीले ४० हेक्टरमा क्षति पुर्याएको छ । भानु नगरपालिकाको चुँदीफाँटमा ६० हेक्टर र बन्दिपुर गाउँपालिकाको सुखौरा फाँटको ३० हेक्टर खेतमा क्षति पुर्याएको छ ।








प्रतिक्रिया राख्नुहोस्