खोपमा शिक्षकलाई प्राथमिकतामा राख्न आग्रह
तनहुँ । देशैभरि अहिले लक्षित वर्गका उमेर समूह र पेसा व्यवसायमा लागेकाहरूले कोरोना विरुद्धको खोप लगाइरहेका छन् ।
सरकारले चीनबाट प्राप्त गरेको भेरोसेलन खोप ५५ देखि ६० बर्ष उमेर समूहका नागरिकसहित शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालक तथा वैदेशिक रोजगारमा जान तयार भएकाहरूलाई लगाइरहेका छन् ।
तनहुँको शुक्ला गण्डकी नगरपालिकामा भने अन्य लक्षित वर्गलाई प्राप्त खोप लगाइएको भएता पनि निजी विद्यालयका शिक्षकहरू खोप पाउनबाट वञ्चित भएको गुनासो आउन थालेको छ ।
सामुदायिक विद्यालयमा कार्यरत रहेको शिक्षकहरूले खोप लगाउन पाए पनि आफूहरूलाई नगर स्तरको निर्णय भन्दै अधिकारबाट वञ्चित गरिएको बाल विद्या मन्दिर माध्यामिक विद्यालयका शिक्षक श्रीप्रसाद गौतमले गुनासो गर्नुभयो ।
“दुई दिनसम्म खोप केन्द्रमा पुगियो तर निजी विद्यालयमा पढाएकै आधारमा हामीलाई फर्काउने काम भयो” शिक्षक गौतमले भन्नुभयो “अन्यत्र कहीँ पनि यस्ता भएको छैन, यहाँ नगरले नै निर्णय गरेर विभेद गरेको छ ।” खोपको पर्याप्तताको आधारमा खोप नपाएको भन्दा पनि निजी विद्यालयका शिक्षक पहिचान गरेर विभेद गर्नुले आफूहरू माथि अन्याय भएको उहाँको बुझाई छ ।
खोप अभियानमा निजी विद्यालयसँग सम्बन्धितले खोप नपाएपछि शुक्रवार स्वास्थ्य शाखामा निजी विद्यालयका सञ्चालकहरूले ध्यानाकर्षण समेत गराएका थिए । ब्राइट फ्युचर माध्यामिक विद्यालयका सञ्चालक प्रा.डा चन्द्रबहादुर थापाले आफूहरूले अन्यायको विरुद्धमा आवाज उठाउन खोप केन्द्रमा पुगेको जानकारी दिनुभयो ।
“संस्थागत निर्णयबाट विभेद गर्न पाइन्छ ? त्यसैले गएका थियौँ, केही समय विवाद पनि सिर्जना भयो ?” थापाले भन्नुभयो “आइतबार नगरपालिकामा बैठक बसेर समस्या समाधान गर्ने सहमति भएको छ ।”
यता नगरपालिकाले भने निजी विद्यालय भनेर विभेद नगरिएको जनाएको छ ।
उपप्रमुख सविता रसाइलीले सरकारको निर्धारण गरेको वर्गभन्दा पनि आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरिएको बताउनुभयो ।
उपप्रमुख रसाइलीले नगरमा प्राप्त खोप अशक्त अपाङ्ग लगायत वृद्ध र वैदेशिक रोजगारीमा जान तयार भएकाहरूलाई प्राथमिकता दिने गरी समझदारी भएको जानकारी दिनुभयो । उहाँले कुनै पनि वर्गलाई तोकेरै खोप नदिने निर्णय नगरपालिकाले नगरेको स्पष्ट पार्नुभयो ।
शुक्ल गण्डकी नगरपालिकामा १८ निजी विद्यालयका झण्डै पाँच सय शिक्षक, प्राध्यापक र कर्मचारी छन् । उनीहरूमध्ये हालसम्म कसैले पनि खोप प्राप्त गरेका छैनन् ।








प्रतिक्रिया राख्नुहोस्