तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाले बीरगंज जलमग्न,५ सय घरमा पानी पस्यो

वीरगन्ज ।बिहानदेखी अविरल रुपमा परेको वर्षाको कारण बीरगंज नगर क्षेत्र जलमग्न भएको छ ।वर्षाका कारण विभिन्न खोलामा आएको बाढी तथा डुबान तथा नदी कटानले पर्साको ग्रामिणक्षेत्रको जनजीवन समेत नराम्रो सँग प्रभावित भएको छ ।

अविरल वर्षाको कारण वीरगन्ज नगर क्षेत्रको अधिकांश भाग डुबानमा परेपछि बिहानै देखी जनजीवन प्रभावित भएको छ ।वीरगन्जको आदर्श नगर, रामगढवा,रानीघाट,जेलरोड, गणेशमान चोक, पानीटंकी, भिषुवा, लक्ष्मणवा, छपकैया, मुर्लि, श्रीपुर, चिनीमिल आवास क्षेत्र लगायतका क्षेत्रमा ३ फिट भन्दाबढि पानी जमेको कारण सडक तथा आसपासका झन्डै ५ सय भन्दा बढी घरहरूमा पानी पसेपछि जनजीवन प्रभावित भएको हो ।

वीरगन्जको आदर्श नगर स्थित कैलाश होटलचोक, गिता मन्दिर चोक अगाडी झन्डै ३ फिट भन्दाबढि पानी जम्दा दर्जनौँ पसलमा राखिएका सामानहरू डुबेकाका कारण लाखौँको क्षति भएको स्थानीय व्यवसायीहरूले बताएका छन् ।त्यसै गरी जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा झन्डै ३ फिट पानी जमेको कारण आवत जावत गर्न समस्या भएको छ । बीरगंज महानगरपालिकाको कार्यालय डुबानमा परेको छ भने नेपाल राष्ट्र बैङ्कको क्षेत्रिय कार्यालय बीरगंज लगायत आदर्श नगर क्षेत्रका दुई दर्जन भन्दाबढि बैङ्कहरू डुबानमा परेका छन् ।

आदर्श नगरका अधिकांश ट्रान्सपोर्टहरुमा पानी पसेपछि भण्डारण गरी राखिएका सामानहरू नष्ट भएको ट्रान्सपोर्ट एशोशिएशन वीरगन्जका पूर्व अध्यक्ष हरेन्द्र साह कानुले बताउनुभयो ।बीरगंज महानगरपालिकाले ३ अर्ब भन्दाबढिको लागतमा वीरगन्जको डुबान हटाउन एडिबीको ऋण सहयोगमा ढल तथा नाला निर्माण गरे पनि नाला विसर्जन गरिने बिर्सिया नदी भन्दा नालाको उचाइ कम भएपछि बाढीको बेला नदीको पानी समेत आदर्श नगरमा नाला हुँदै उल्टै बजारमा पसेपछि थप समस्या हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button