भैरहवा भन्सार कार्यालयबाट लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व सङ्कलन

रुपन्देही । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।
मुलुककै दोस्रो ठुलो यो कार्यालयलाई विभागले यो आवमा भन्सारलाई ९९ अर्ब ६५ करोड ७६ लाख ८ हजार रुपैयाँ राजस्व असुली लक्ष्य तोकेको थियो ।
भन्सार कार्यालयले भने १ खर्ब १२ अर्ब ५४ करोड २५ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यभन्दा १३ प्रतिशतले बढी हो ।
विगत तीन आर्थिक वर्षमा भैरहवा भन्सार कार्यालयले राजश्व सङ्कलनको लक्ष्य पूरा गर्न नसकेका कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले बताउनुभयो ।
कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा ८१ अर्ब ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य पाएकोमा ७० अर्ब २८ करोड ९३ लाख ५ हजार अर्थात् लक्ष्यको ८६ प्रतिशत मात्र अर्थात् राजस्व असुली गरेको थियो । /
यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ९३ अर्ब ९५ करोड ९७ लाख ७३ हजार लक्ष्य पाएकोमा ८८ प्रतिशत अर्थात् ८२ करोड ३० लाख ५३ लाख ३३ हजार मात्र राजस्व असुली भएको थियो ।
२०७६/०७७ मा १ खर्व ६ अर्ब ८८ लाख ८६ हजार लक्ष्य तोकिएकोमा ६६ प्रतिशत अर्थात् ७० अर्ब २९ करोड १५ लाख ९७ हजार मात्र राजस्व सङ्कलन भएको थियो ।
कोरोना महामारीबीच पनि पछिल्लो समय आर्थिक क्रियाकलाप बढ्नु, गैर भन्सार क्रियाकलाप नियन्त्रण हुनु, मोटरसाइकललगायतका बढी राजस्व सङ्कलन हुने वस्तु आयातमा वृद्धि भएकाले पनि लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गर्न सफल भएको सूचना अधिकृत पासवानले जानकारी दिनुभयो ।
भन्सार कार्यालयका अनुसार आव ०७७/०७८ मा सबैभन्दा बढी राजस्व मोटरसाइकलबाट सङ्कलन भएको छ । मोटरसाइकलबाट २० अर्ब ६३ करोड १४ लाख ५४ हजार सङ्कलन भएको छ ।
यस्तै, एमएस विलेटबाट ५ अर्ब ६९ करोड ४९ लाख ४० हजार, ग्लेज टाइलबाट ३ अर्ब ४३ करोड १२ लाख, हाइस्पीड डिजेलबाट २ अर्ब ६३ करोड ८९ लाख ७४ हजार, सिङ्गल क्याव पिक अप गाडीबाट २ अर्ब ६२ करोड ५० लाख ७१ हजार, डबल क्याव पिक अप गाडीबाट २ अर्ब ४७ करोड ९४ लाख ४२ हजार राजस्व सङ्कलन भएको छ ।
यसै गरी, पेट्रोलबाट २ अर्ब ४१ करोड ६६ लाख ५४ हजार, पोलिथिन दानाबाट १ अर्ब ५० करोड ९७ लाख ७३ हजार, मार्बल स्ल्याबबाट १ अर्ब ४४ करोड ९८ लाख ३९ हजार र ट्रक, मिनी ट्रकबाट १ अर्ब १५ करोड ८६ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्