११० ग्राम खैरो हिरोइनसहित दुई जना पक्राउ

घोराही । विभिन्न आरोपमा पक्राउ परी कारागार सजाय भुक्तान गरेका दुई व्यक्ति दाङबाट खैरो हिरोइनसहित पक्राउ परेका छन् ।
उनीहरूलाई दाङ प्रहरीले ११० ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
बाँके जानकी गाउँपालिका वडा नं. ३ मुक्ति नगरका बर्ष ३६ का राजा योगी र बाँके डुडुवा गाउँपालिका–१ खडैचा निवासी बर्ष ३० का राजु भनिने नोर महमद दर्जीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
योगी यसअघि महानगरी प्रहरी वृत्त कालीमाटीले २०७१ कार्तिक २३ गते लागु औषध खैरो हिरोइन २० ग्राम ६२० मिलिग्रामसहित पक्राउ गरेको थियो ।
उक्त अभियोगमा योगीले ६ बर्ष कैद भुक्तान गरी निस्किएका थिए भने दर्जीलाई बाँके प्रहरीले २०७० मङ्सिर १६ गते डाँका चोरी कसुरमा पक्राउ गरी दुई बर्ष कैद भुक्तान गरेर निस्किएका थिए ।

उनीहरूलाई दाङ प्रहरीले असार ३१ गते बेलुका साढे ४ बजे लमही नगरपालिका–९ तल्लो अमिलिया चोकबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।
पक्राउ परेका दुवै जनामाथि हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसअघि दाङ प्रहरीले रेडपाण्डाको कारोबारमा संलग्न सुर्खेत र जाजरकोटका दुई व्यक्तिलाई असार ३० गते पक्राउ गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्