बढ्यो चिराइतोको मूल्य
ताप्लेजुङ । पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ । सोअघि ताप्लेजुङमा प्रतिमन रु आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल रु १५ हजारका दरले कारोबार भइरहेको छ ।
उता झापाको बिर्तामोडमा भने प्रतिमन रु २० हजारका दरले कारोबार भइरहेको व्यवसायीले बताएका छन् । यसअघि झापामा प्रतिमन रु १३ हजारमा कारोबार भइरहेको थियो । पछिल्लो एक सातायता क्रमशः मूल्य वृद्धि हुँदै हाल झापामा प्रतिमन रु २० हजार पुगेको हो ।
एक साता अघिसम्म यहाँ प्रतिमन रु आठ हजारमा किनबेच भइरहेको थियो, अहिले रु १५ हजार पुगेको छ, झापामा रु २० हजार छ
“एक साता अघिसम्म यहाँ प्रतिमन रु आठ हजारमा किनबेच भइरहेको थियो, अहिले रु १५ हजार पुगेको छ, झापामा रु २० हजार छ”, व्यवसायी सबिन बानियाँले भन्नुभयो । पछिल्लो सिजनमा उत्पादन न्यून रहेको र हाल भारतलगायतका ठाउँबाट यसको माग बढेकाले मूल्य पनि बढेको हुन सक्ने बानियाँले बताउनुभयो ।
पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो धेरैजसो भारततर्फ निकासी भइरहेको छ । एक वर्ष अघिसम्म जिल्लाको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बततर्फ पनि निकासी हुने गरेको थियो तर कोभिड–१९ का कारण एक वर्षदेखि टिपताला नाका बन्द हुँदा त्यसतर्फ चिराइतोलगायतका सामानको निकासी पनि ठप्प बनेको छ ।
हिमाली तथा पहाडी जिल्लामा अलैँची पछिको दोस्रो नगदेबालीका रूपमा लिइने चिराइतोको मूल्य न्यून हुँदा यसमा संलग्न किसान चिन्तित बनेका थिए तर मूल्यमा सुधार आएसँगै मूल्य पर्खिएर बसेका किसानमा भने उत्साह छाएको छ । जिल्लाका प्राय किसानले यसअघि नै बिक्री गरे पनि केहीले भने मूल्य बढ्ने आशाले गोदाममै थन्क्याएर राखेका छन् । मूल्य बढेसँगै उनीहरुले पनि बिक्री गर्ने तयारी थालेका छन् ।
चार वर्षअघि चिराइतोको मूल्य प्रतिमन रु ३० हजारसम्ममा समेत कारोबार भएको थियो तर क्रमशः मूल्य घट्दै गएर रु आठ हजारमा झरेको थियो । लामो समयसम्म न्यून मूल्य कायम रहँदा चिराइतो खेती गर्ने किसानलाई समस्या थियो । कम मूल्य हुँदा चिराइतो खेती गर्ने क्रमसमेत घट्दै गएकाले पछिल्लो समय यसको उत्पादनमा पनि कमी देखिन थालेको व्यवसायीले बताएका छन् । यसरी मूल्य घटेकै समयमा उत्पादन पनि घटेको र माग बढ्दै जाँदा फेरि मूल्य पनि बढेको व्यवसायीको अनुमान छ ।
ताप्लेजुङका साविकका गाविसहरु सुरुम्खिम, खेवाङ, मामांखे, याम्फुदिन र फक्ताङलुङका केही स्थानलगायतका किसानले चिराइतो खेती गर्दै आएका छन् । पाखाबारी र अन्य खेती गर्न नसकिने जङ्गल फाँडेर किसानले चिराइतो खेती गर्दै आएका हुन् । प्रमुख नगदे बालीका रूपमा अलँैची र त्यसपछि चिराइतो खेती गर्ने क्रम बढे पनि भने जस्तो मूल्य नपाउँदा किसानमा उत्साह छैन । अलैँचीको समेत मूल्यमा एकरूपता नहुँदा समस्या हुने गरेको किसानको गुनासो छ । कहिले भाउ बढ्ने कहिले ह्वात्तै घट्ने भएकाले ठुलो लगानीका साथ खेती गर्ने वातावरण बन्न नसकेको उनीहरुको भनाइ छ ।रासस









प्रतिक्रिया राख्नुहोस्