काभ्रेपलाञ्चोकमा साउन १० गतेसम्म निषेधाज्ञा थपियो

काभ्रे । काभ्रेपलाञ्चोकमा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा साउन १० गतेसम्म थप गरिएको छ ।
जिल्लाको सम्भावित कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाम गर्न कोभिड–१५ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८, सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी असार ३१ गते राती १२ः०० बजेदेखि साउन १० गते राती १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
निषेधाज्ञा अवधिभर पसल तथा सटरहरू बिहान ६ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न पाइने भएको छ ।
त्यसै गरी सार्वजनिक सवारी साधनका हकमा कुल सिट क्षमताभन्दा बढी सङ्ख्यामा यात्रुहरू नराख्ने गरी चालक, सहचालक तथा यात्रुहरूले निर्धारित जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विकास निर्माणका सामग्री ढुवानी गर्ने सवारी साधनहरू स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी जिल्लाभित्र खपत हुने सामग्रीको हकमा साँझ ५ः०० बजेपछि बिहान ८ः०० बजेसम्म र जिल्ला बाहिर लैजानेको हकमा साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
त्यसै गरी भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिम खाना आदि सञ्चालन नगर्ने, हाट, मेला, जात्रा, महोत्सव, पार्टी, भोज जस्ता भिडभाड हुने कार्यहरू नगर्ने, विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरू होटेल तथा पार्टी प्यालेसमा नगर्ने, तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल र बाटोमा तरकारी तथा फलफूल विक्री वितरण नगर्ने, कोभिड–१९ सँग मिल्दोजुल्दो कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क गर्ने लगायत जारी विज्ञप्तिमा जनाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्