प्रदेश नंं २ को लोकसेवा आयोगद्वारा पहिलो पटक ठुलो सङ्ख्यामा विभिन्न पदमा विज्ञापन

जनकपुरधाम । प्रदेश २ लोकसेवा आयोग सञ्चालनमा आएपछि पहिलो पटक ठुलो सङ्ख्यामा अधिकृत स्तरको लागि विज्ञापन प्रकाशित गरिएको छ ।
प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त रहेका विभिन्न पदहरूको पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृत तहको विज्ञापन गरेको हो ।
आयोगले अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह ( प्राविधिक र अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक र अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ ।
यसै गरी खुला, समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिकतर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि विज्ञापन गरेको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।
यस्तै खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न प्राविधिकतर्फ स्वास्थ्य सेवाको अधिकृत आठौँ तह र अधिकृत सातौँ तहको लागि पनि विज्ञापन गरेको छ ।
दरखास्त फारम भर्ने दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन २७ गतेसम्म रहको प्रदेश लोकसेवा आयोगको विज्ञापनमा उल्लेख रहेको छ ।
परीक्षाको मिति र परीक्षा केन्द्र पछि प्रकाशित गरिने पनि प्रदेश लोकसेवा आयोगको विज्ञापनमा उल्लेख गरिएको छ । विज्ञापन फारम अनलाइनमार्फत भर्न पाउने व्यवस्था गरेको प्रदेश नंं २ को लोकसेवा आयोगले जनाएको छ ।
लोकसेवा आयोगको दरखास्त फारम ppsconline.p2.gov मा गएर भर्न पाउने व्यवस्था गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्