तपाईँ सुन्दै हुनुहुन्छः

‘नमुना कृषि गाउँ आफै बनाऔँ’ नीति अन्तर्गत बाख्रा प्रवर्द्धन कार्यक्रम

बझाङ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपक्षी कार्यक्रम अन्तर्गत बाख्रा व्यवसायलाई प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । 

युवाहरूलाई व्यवसायतिर जोड्ने उद्देश्यले तलकोट गाउँपालिकाको वडा नम्बर ६ बडिगाउँलाई छनोट गरेपछि त्यहाँका स्थानीयबासीहरु बाख्रा पालन व्यवसाय तर्फ सक्रिय भएका छन् । 

मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपक्षी कार्यक्रम अन्तर्गत बाख्रा राख्ने दुई वटा व्यावसायिक खोर, दुई वटा नमुना खोर, किसानलाई खोर सुधार, ४५ परिवारलाई बाख्रा र बोका सहयोग गरेपछि अहिले त्यहाँका स्थानीयहरू बाख्रा पालन व्यवसायमा लागि परेका छन् । 

तलकोट गाउँपालिका ६ का प्रेम बहादुर धामीले आफूले सहयोग पाएपछि बाख्रा व्यवसायमा लागेको र अहिले ३० वटा भन्दा बढी बाख्राहरू नमुना खोरमा पाल्दै आएको र आगामी दिनमा व्यवसायलाई थप बढाउने बताउनुभयो । 

विगतमा बडिगाउँका किसानहरूले बाख्रा पालन गरे पनि व्यावसायिक रुपमा नभएर गुजारामुखी मात्रै गरेकाले, हाल सोही व्यवसायमा लागेका किसानहरूलाई स्वरोजगार तर्फ जोड्ने उद्देश्यले बडिगाउँलाई छनोट गरिएको तलकोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर विष्टले बताउनुभयो । 

साथै पछिल्लो समयमा तराईबाट समेत ब्वाइलर कुखुराहरूको आयात बढ्न थालेपछि कुखुराको मासुको माग बढी र  बाख्रा र खसिको मासुको माग न्यून हुन थालेपछि  तलकोटको गैतोलामा बदसाला समेत सञ्चालनमा ल्याउनका लागि तयारी रहेको र आफूले गाउँपालिकामा आलु, सिमी, कोदो लगायतका रैथाने खाद्यान्न बालीहरूको पकेट क्षेत्र बनाउने उद्देश्यले कृषि क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राख्दै आएको समेत अध्यक्ष विष्टले बताउनुभयो । 

नमुना कृषि गाउँ आफै बनाऔँ भन्ने नीति अन्तर्गत बाख्रा व्यवसाय पकेट क्षेत्र विकास गर्ने उद्देश्यले जिल्लाको तलकोट, मष्टा, वित्थडचिर, सुर्मा, जयपृथ्वी नगरपालिकाको कैलाशमा यो कार्यक्रम लागु गरिएको पशुसेवा विज्ञ केन्द्र बझाङका प्रमुख पशुपती नाथले बताउनुभयो । 

उक्तm कार्यक्रम अन्तर्गत बाख्राका नमुना खोरहरू, व्यवसायी खोरहरू, गोठ सुधार लगायतका पुर्वाधारका कार्यक्रम लगायत औजार उपकरण सङ्कलन केन्द्र बदसाला लगायतका कार्यक्रमहरू पनि जिल्लामा सञ्चालन गरिएको र बझाङ जिल्ला बाख्रा व्यवसायका लागि राम्रो क्षेत्र रहेको समेत प्रमुख पशुपति नाथले बताउनुभयो । 

केही बर्ष देखी मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम प्रभावकारी बनाउनका लागि र एक स्थानीय तहको सिकाई आदानप्रदान गर्ने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समिति र सञ्चारकर्मीहरूलाई समेत अवलोकन, अनुगमन गराउँदै आएको र बझाङ जिल्ला सम्भावनाको जिल्ला भएकाले आफ्नै गाउँघरमा बसेर युवाहरूले व्यवसाय तर्फ लाग्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख खडक खड्काले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button