नमुना युवा संसद् : सीमा समस्या समाधान गर्न माग

काठमाडौँ । ‘सङ्घीय नमुना युवा संसद्’मा नमुना सांसदले पनि छिमेकी मुलुकले जमिन अतिक्रमण गरेका बारे कुरा उठाएका छन् । नमुना युवा संसद्मा उनीहरूले छिमेकी मुलुकले सीमा अतिक्रमण गरिरहेको जनाउँदै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
संसद्मा नमुना सांसद नवीना पाठकले छिमेकी मुलुक भारतले नेपालका विभिन्न ठाउँमा सीमा अतिक्रमण गरेको जनाउँदै कूटनीतिक तरिकाले समाधान गर्न माग गर्नुभयो । अर्का नमुना सांसद चेतन भट्टराईले भारतसँग गरिएका असमान सन्धि खारेज गर्न माग गर्नुभयो ।
नमुना सांसदले उठाएका प्रश्नका जवाफमा नमुना प्रधानमन्त्री स्मृति बरालले सीमा अतिक्रमण र असमान सन्धिका विषयमा सरकारले कूटनीतिक प्रयासमार्फत समाधान गर्ने आश्वासन दिनुभयो । उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा गत वर्ष मात्र सरकारले सार्वजनिक गरेको र अब अतिक्रमण भएका क्षेत्रमा गई सीमा समस्या समाधान गरिने बताउनुभयो ।
नमुना गृहमन्त्री सुरेन्द्र गिरीले नेपालले आफ्नो एक इन्च भूमि पनि अतिक्रमण गर्न नदिइने नमुना संसद्मा जानकारी गराउनुभयो ।
यस्तै आज शून्य र विशेष समयमा उनीहरूले युवा स्वरोजगारमुखी कार्यक्रम ल्याउन माग गरेका हुन् । नमुना सांसद अमृता लम्सालले मुलुकमा रोजगारी नहुँदा लाखौँ युवा विदेश जानुपर्ने बाध्यता भएकाले मुलुकमा स्वरोजगारमुखी कार्यक्रम ल्याउन माग गर्नुभयो । नमुना सांसद मनोज भण्डारीले दैनिक एक हजार ५०० युवा विदेश जान बाध्य भएकाले स्वदेशमा नै रोजगारी उपलब्ध गराउन माग गर्नुभयो ।
नमुना सांसद मुना सुनारले युवतीमाथि बलात्कारका घटना दिनहुँ बढेकाले रोक्न माग गर्नुभयो । अपराधीलाई कारबाही नगर्दा किशोरीमाथि बलात्कारका घटना बढिरहेको उहाँको भनाइ थियो ।
नमुना सांसद खेमराज अवस्थीले मुलुकमा कोरोना भाइरसको महामारी बढेकाले रोकथाम र नियन्त्रण गर्न माग गर्नुभयो । उहाँले कोभिड–१९ का कारणले विद्यार्थीको पठनपाठन पनि हुन नसकेकाले सरकारले सबै शिक्षक र विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गर्नुभयो ।

नमुना सांसद जीवन आचार्यले कर्णाली प्रदेशका युवालाई सीप र क्षमताअनुसार सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गर्नुभयो ।
नमुना युवा प्रधानमन्त्री बरालले सरकारले युवा स्वरोजगारीमुखी कार्यक्रम ल्याउन थालेको जानकारी दिनुभयो । उहाँले युवा सीप र क्षमताबाट दक्ष बनाएर करिब एक लाख युवालाई यस वर्ष स्वरोजगार बनाइने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले स्थानीय, प्रदेश र सङ्घीय सरकारले युवालाई स्वरोजगार बनाउनका लागि छुट्टाछुट्टै बजेटसमेत विनियोजन गरेको बताउनुभयो । नमुना प्रधानमन्त्री बरालले विदेश जाने युवालाई तालीम दिएर मात्र पठाइने जानकारी दिनुभयो ।
राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराई भर्चुअल माध्यमबाट १६ देखि २४ वर्ष उमेर समूहका युवाले ‘सङ्घीय नमुना युवा संसद्’ सञ्चालन गराएको हो ।
सबै नागरिकलाई खोप माग
नमुना युवा संसद्मा खोप सबै नागरिकलाई लगाउन सांसदले माग गरेका छन् । कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जरुरी सार्वजनिक प्रस्तावमाथि छलफल गर्दै नमुना सांसदले सबै नागरिकलाई खोप लगाए मात्र कोभिड–१९ बाट बचाउन सकिने धारणा राख्नुभयो ।
नमुना प्रधानमन्त्री बरालले आगामी तीन महिनाभित्र लक्षित सबैलाई खोप लगाइने बताउनुभयो । उहाँले सरकारले विभिन्न मुलुकबाट सबै नागरिकलाई खोप लगाउनका लागि खोप खरिद प्रक्रिया गरिसकेको जनाउँदै अब नियमित रुपमा खोप आउने र सबै नागरिकले खोप लगाउन पाउने बताउनुभयो ।
नमुना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रुपा कठायतले चीन, अमेरिका र जापानबाट नियमित खोप आउने जानकारी दिनुभयो । यही असार २८ गतेदेखि भएको नमुना युवा संसद् बैठकमा देशभरिका ८० युवा सहभागी छन् । दुई दिनसम्म नेपालको संसदीय अभ्यास, व्यवस्थापिका संसद् सञ्चालन, संसदीय शब्दावली र लोकतन्त्रबारे प्रशिक्षित गराएर आज नमुना युवा संसद् सञ्चालनको अभ्यास गरेका हुन् ।
आजको नमुना युवा संसद्मा राष्ट्रपतिका भूमिकामा रुपन्देहीकी २२ वर्षीया प्रकृति पोखरेल, सभामुखमा सिन्धुपाल्चोकका अभिषेक तिवारी, उपसभामुखमा आरती भट्टराई, ज्येष्ठ सदस्यमा नवीन पहाडी र संसद्का प्रमुख प्रतिपक्ष दलका नेतामा रञ्जन पौडेल रहनुभएको छ ।
संसद्मा उठेका प्रश्नको जवाफ आज सम्बन्धित मन्त्रीले दिएका छन् । संसद्मा कोभिड–१९ रोकथाम र नियन्त्रण, कोभिड–१९ विरुद्धको खोप, महिला हिंसा, विपद् व्यवस्थापन, सीमा अतिक्रमण, युवा स्वरोजगार जस्ता विषयमा छलफल भयो ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकास गर्नका लागि नमुना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था, संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमुना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्