धान सुकेपछि पनौतीका किसान चिन्तित

काभ्रेपलाञ्चोक । जिल्लाको पनौती नगरपालिकामा रोपेको धान धमाधम सुकेर पराल जस्तो देखिन थालेको छ । रोपाई गरेको एक महिना नपुग्दै धान पहेलिन थालेपछि कृषकहरू निराश छन् ।
धान सुकेर चिन्तित किसानहरू बजारका विभिन्न पसलबाट खरिद गरेको धानको बिउँमै समस्या भएका कारण धान रोपेको एक महिनामै रोग देखिन थालेको बताउँछन् । पनौती नगरपालिका वडा नं। २,३,५,७,९,१०,१२ मा धानमा खैरो फड्के किरा र सिड ब्लास्ट नामको रोग लागेर करिब १४ सय रोपनीको धान खेत सुकेर पराल जस्तै देखेको हो ।
किसानहरूले प्रशस्त उत्पादन हुने आसमा बजारबाट विभिन्न जातका धान बिउँ रोपे पछि यो रोग देखिएको हो । प्याकेटको धानमा देखा पर्दै आएको रोगको कारण स्थानीय खुम्लचार, टाइचिन, मन्सुली धानमा पनि रोग सर्दै गएको छ ।

कृषकहरूले धान डढ्न थाले पछि विषादी प्रयोग गरे पनि काम नलागेको र एक महिना नपुग्दै डढेर खेत खाली हुन थालेको कृषक कृष्ण प्रसाद कोइरालाले बताउनु भयो ।
‘आफ्नो ५ रोपनी खेतमा लगाएको धान पुरै सुक्यो । धानको बोटमा लाही जस्तो उड्ने किरा धानको गाभामा बसिरहने गरेको र त्यसलाई हटाउन धान गोडे पनि सम्भव नभएको उनले बताए धानको बोटमा बसेर किराले खाइरहेकाले विषादी प्रयोग गरे पनि काम नगरेको कोइरालाले बताउनुभयो ।
नगरका कृषि तथा पशुपक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले पनौती नगर भित्र लगाइएको धानमा समस्या देखिएकाले विषादी वितरण गरी प्राविधिकहरू खटाईएको बताउनु भयो ।
अधिकांश धानमा लाही जस्तो देखिने किरा, सेतो पुतली, अन्य आँखाले नदेखिने किराहरूले बोट खाने गरेकाले धान रोपाई गरेको एक महिना नपुग्दै डढेको जस्तो देखिएको शाखा प्रमुख सापकोटाले बताउनु भयो ।
पनौती नगर भित्रका किसानहरूको समस्या समाधानका लागि नयाँ रोगको लागि बजेट नभए पनि विभिन्न शीर्षकको बजेटबाट किसानहरूको समस्या समाधान गरेको उप प्रमुख गिता बन्जाराले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्