तपाईँ सुन्दै हुनुहुन्छः

टोकियो ओलम्पिकमा नेपालको झन्डा गौरिका सिंहले बोक्ने

काठमाडौँ । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालको झन्डा पौडीकी गौरिका सिंहले बोक्ने भएकी छिन् ।


नेपाल ओलम्पिक कमिटीले मङ्गलवार पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिकाले नेपालको झन्डा बोक्ने जानकारी दिएको हो । गौरिकाले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् । 


उनी २०१६ को रियो ओलम्पिकमा ओलम्पिककै सर्वाधिक कम उमेरको खेलाडी बनेकी थिइन् । नेपालमा आयोजना भएको १३ औँ सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कांस्य जितेकी थिइन् । 

यस्तै नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेको ओलम्पिक कमिटीले जनाएको छ । टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियल गरी कुल २६ जनाको सहभागिता रहने ओलम्पिक कमिटीले जनाएको छ । जसमा पाँच खेलाडी र चार प्रशिक्षक छन् ।


टोकियो ओलम्पिकमा पौडीबाट गौरिकासँगै एलेक्जेन्डर शाह (एलेक्स) एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले युनिभर्सियालियाटी प्लेस’ अन्तर्गत ओलम्पिक खेल्न लागेका हुन् ।  बाँकी दुई खेलाडीले भने वाइल्ड कार्ड पाएका हुन् ।


गौरिकाले वुमेन्स १०० सय फ्रि स्टाइल र एलेन्जान्डरले मेन्स १०० मिटर फ्रि स्टाइलमा खेल्नेछन् । कल्पनाले वुमेन्स १० मिटर एयर राइफल, सानियाले वुमेन्स ४८ केजी तौल समूह तथा सरस्वतीले वुमेन्स १०० मिटर दौडमा सहभागिता जनाउने छिन् ।

प्रशिक्षकमा पौडीका शङ्कर कार्की, सुटिङका असीम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button