तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीले सरकार सञ्चालन सम्बन्धमा काङ्ग्रेससँग छलफल गर्ने

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)ले नेपाली काँग्रेससँगको छलफलपछि मात्र सरकारमा सहभागी हुनेको नाम टुङ्ग्याउने भएको छ । पार्टी मुख्यालय पेरिस डाँडामा आज बिहान बसेको स्थायी समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि मन्त्रीको नाम टुङ्गो लगाउने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवासँग सरकार सञ्चालनका निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरूपका बारेमा ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । “आज कस्तो मन्त्रिमण्डल निर्माण गर्ने, कति जना सहभागी हुने, कुन कुन पार्टी समावेश हुने भन्ने बारेमा एक पटक छलफल गरेपछि मात्र यसबारेमा निर्णय गर्न उपयुक्त हुने भएकाले हामीले अहिले नै सरकारमा सहभागी हुनेको नामबारे टुङ्गोमा पुगेको छैनौँ”, उहाँले भन्नुभयो ।

सरकार सञ्चालनका विषयमा अध्यक्ष दाहालले देउवासँग छलफल गर्ने र त्यसका आधारमा आवश्यक निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । माओवादीले सम्पूर्ण राजनीतिक दललाई संविधान र लोकतन्त्रका पक्षमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ ।

यसै गरी बैठकले पार्टी केन्द्रीय सदस्य महादेव यादवको निधनप्रति शोक व्यक्त गर्दै पार्टी स्थायी समिति सदस्य पम्फा भुसालकी स्व माताप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button