विस्तृत सम्भाव्यता प्रतिवेदन तयार पार्न समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यता प्रतिवेदन तयार पार्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा आइतबार समझदारी पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र भारतको सतलज विद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले हस्ताक्षर गर्नुभयो ।
अर्ध जलाशययुक्त प्रकृतिको आयोजनाबाट वार्षिक रुपमा २ हजार ६२५ गिगावाट ऊर्जा उत्पादन हुन्छ । सङ्खुवासभामा आयोजनास्थल रहेको सो आयोजना आकर्षक मध्येको एक हो ।
लगानी बोर्डको यही असार ८ गते बसेको बैठकले विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति पत्र जारी गर्न परियोजना विकासकर्ता सतलज विद्युत् निगमसँग गरिने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको थियो ।
यसअघि विसं २०७८ माघ १६ गतेको बोर्ड बैठकले बुट ढाँचामा आयोजना निर्माणका लागि सतलजलाई चयन गरेको थियो । आयोजनाको कुल लागत १ हजार ३ सय मिलियन अमेरिकी डलर हुने अनुमान गरिएको छ ।
समझदारी अनुसार दुई वर्षभित्रमा तल्लो अरुण आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेछ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै उप प्रधान तथा अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले परियोजनाको निर्माण द्रुत गतिमा अघि बढ्ने विश्वास गर्दै यसका लागि नेपाल सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला रूपान्तरणकारी परियोजनामा सार्वजनिक निजी साझेदारीलाई प्रवर्द्धन र निजी लगानीलाई सहजीकरण गरी लगानी आकर्षित गर्न लगानी बोर्ड केन्द्रित रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्