तपाईँ सुन्दै हुनुहुन्छः

राते मृगसहित पाल्पाबाट चारजना पक्राउ

पाल्पा । पाल्पामा संरक्षित जनावर राते मृग सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार प्रहरी चेकजाँचको क्रममा आइतबार रिब्दिकोट गाउँपालिका–३ हार्थोक बजारमा बुर्तिबाङ बागलुङबाट बुटवल तर्फ जाँदै गरेको ध १ ज ४६५ नं. को बलेरोमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पिक–अप जिपलाई चेकजाँच गर्ने क्रममा अन्दाजी ८ के.जी.बराबरको राते (मृग) मृतक सिटको पछाडि पट्टी राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृग सहित फेला परेपछि उक्त जिपमा रहेका चालक सहित ४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका ४ बस्ने बर्ष २९ को सुरेश थापा बागलुङ ढोरपाटन नगरपालिका ६ बस्ने बर्ष २८ को रमेश भण्डारी (चालक) निस्दिखोला गाउँपालिका–३ बस्ने बर्ष २९ को छम बहादुर मल्ल र अर्घाखाँची पाणिनि गाउँपालिका–८ बस्ने बर्ष ३२ को मोबिन वली रहेका छन् ।

उनीहरूले बागलुङ क्षेत्रको ढोरपाटन सिकार आरक्ष क्षेत्रबाट चोरी तस्करी गरी ल्याएको हुन सक्ने शङ्काले नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातिले जानकारी दिनुभयो । उनीहरूलाई वन कार्यालयको जिम्मा लगाउने र वन ऐन अनुसार कारबाही हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button