तपाईँ सुन्दै हुनुहुन्छः

गुठीको जग्गा खाली गर्न अल्टिमेटम

जुम्ला । वर्षौँदेखि अतिक्रमण गरिरहेको चन्दननाथ भैरवनाथ गुठीको जग्गा खाली गर्न अल्टिमेटम दिइएको छ । 

गुठी व्यवस्थापन समितिले वर्षौँपछि मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम सार्वजनिक गर्दै एक हप्ताभित्र खाली गर्न अल्टिमेटम दिएको हो । 

गुठी समितिका उपाध्यक्ष कालीबहादुर थापाको संयोजकत्वमा बनेको उपसमितिले २०७१ साल जेठ २१ गते गुठी समितिलाई जग्गा अतिक्रमणबारे प्रतिवेदन पेस गरेको थियो । 

गुठी समितिको बैठकले चन्दननाथ, भैरवनाथ गुठीको नाममा नापचाँज भएको जग्गामा सदरमुकामका कहीँ नागरिकले आफूखुसी अतिक्रमण गरी घर टहरा, शौचालय आदि निर्माण गरेकाले एक साता दिनभित्र मन्दिरको जग्गा खाली गरिदिन अल्टिमेटम दिएको छ । 

तोकिएको समयभित्र घरजग्गा खाली नगरे कानुनबमोजिम अघि बढ्ने समेत चेतावनी दिइएको छ । वर्षौँपछि व्यक्तिगत प्रयोजनका लागि मन्दिरको जग्गा अतिक्रमण गर्नेहरूको नाम समेत समितिले सार्वजनिक गरेको छ । 

पटक–पटक गुठीको जगा खाली गर्न  ताकेता लगाउँदा पनि अटेर गरेपछि समितिले पछिल्लो समय कठोर भएर एक हप्ते अल्टिमेटमसहित जग्गा खाली गर्न अन्तिम पटक सूचना गरिएको गुठी समिति उपाध्यक्ष रत्नचन्द्र उपाध्यायले जानकारी दिनुभयो । 

जग्गा अतिक्रमण गर्नेहरूमा चन्दननाथ नगरपालिकाको कार्यालय जुम्ला, सोही नगरपालिका वडा नम्बर ५ का तिला सुनार, दत्त सुनार, दतु सुनार, वसुन्धारा श्रेष्ठ, रुपा भण्डारी, लाटी सुनार, राजु सुनार र चक्रबहादुर महत रहेका छन् ।

 त्यसै गरी अम्बिका शाही, पारसमणि महत, वीर्षबहादुर स्वाँर, पदमबहादुर खत्री, नवराज गिरी, प्रभा शाही, गङ्गा भण्डारी, पोष्टबहादुर भण्डारी, जनक खाँण, सूर्य दमाई, सुन्दरी दमाई, बर्म गिरी र मुनिराम महतारा रहेका छन् । 

सात दिनभित्र खाली नगरेपछि कानुन अनुसार प्रक्रिया अघि बढाइने गुठीका उपाध्यक्ष रत्नचन्द्र उपाध्यायले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button