गाउँमा भन्दा नगर क्षेत्रमा कोरोना संक्रमित बढ्दै

भोजपुर । भोजपुरमा केही समयसम्म गाउँपालिकाहरूमा कोरोना सङ्क्रमितको सङ्ख्या बढी देखिँदै आएको थियो तर अहिले भने भोजपुर नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेको छ ।
असार लागेसँगै बैकहरुमा पनि भिडभाड बढ्दै गएको र स्थानीयले पनि अहिले तोकिएको समयमा व्यापार, व्यवसाय सञ्चालन गर्न थालेसँगै नगरपालिका क्षेत्रमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो । स्वास्थ्य कार्यालय भोजपुरको तथ्याङ्क अनुसार जिल्लाभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या करिब १ हजार १ सय पुग्न लागेको छ ।
जिल्लामा शुक्रवार १५ जना संक्रमित थपिएसँगै कुल संक्रमित सङ्ख्या १ हजार ८४ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले बताउनुभयो । जसमा भोजपुर नगरपालिकामा मात्र संक्रमित सङ्ख्या १ सय ८६ पुगेको छ ।
कार्यालयका अनुसार हालसम्म ८ सय ८६ जना संक्रमित निको भएका छन् भने ८ जनाको उपचारका क्रममा मृत्यु भएको छ । भोजपुरमा हाल पिसिआर परिक्षण भन्दा पनि बढी एन्टिजेन विधिबाट सङ्क्रमितको परीक्षण हुँदै आइरहेको छ ।
दोस्रो लहरको कोभिड १९ मा भोजपुरमा जम्मा ३ सय ८५ जनाको मात्र पिसिआर परीक्षण गरिएको छ । जसमध्ये १ सय ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
एन्टिजेन्ट परिक्षण विधिबाट ३ हजार ६ सय ८४ जनाको परिक्षण गरिएकोमा ९ सय ८३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
भोजपुरमा हाल १ सय ६१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्ला बाहिर ३२ जनालाई उपचारको लागि पठाइएको छ भने संस्थागत आइसोलेसनमा १० जना उपचारमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्