रौतहटमा दुई पक्षीयबीच झडप हुँदा चार जना घाइते, छ वटा मोटरसाइकलमा आगजनी
रौतहट । रौतहटमा बिहीबार राती दुई पक्षीयबीच झडप हुँदा चार जना घाइते भएका छन् भने छ वटा मोटरसाइकलमा आगजनी भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–८ बस्तिपुरस्थित श्रीराम चौधरीको खाली घरमा स्थानीय दिपनारायण चौधरीले बस्ती बाहिरका मानिसको समूह ल्याई मदिरा सेवन गरी होहल्ला गरेपछि स्थानीयले प्रतिकार गर्ने क्रममा दोहोरो झडप भएको हो ।
६ वटा मोटरसाइकलमा आएका समूहले स्थानीय श्रीराम चौधरीको खाली घरमा मदिरा सेवन गर्दै मोटरसाइकलको ध्वनि प्रदूषण गर्न थालेपछि प्रतिकार भएको स्थानीय अजय चौधरीले बताउनुभयो ।
झडपमा मोटरसाइकलमा सवार रहेका सबैको मोटरसाइकल आगजनी भएको छ भने श्रीराम चौधरीको घर तोडफोड भएको छ ।
झडपमा परी सामान्य घाइते भएका अगम चौधरी, विक्रम चौधरी, धीरेन्द्र सहनी, भैरब प्रसाद चौधरीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारपछि घर फर्केका छन् ।
प्रहरीलाई घटनालाई नियन्त्रणमा लिन चार घण्टा लागेको थियो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक लिला राज लामिछानेले घटनाले उग्र रूप लिएको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगी घटना नियन्त्रणमा लिएको बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि उहाँले जनाकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्