एक वर्षमा १३ किमी कालोपत्रे, २५ किमी ग्राभेल

चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा नगरको १३ किलोमिटर सडकलाई कालोपत्रे गरेको छ । ग्रामीण क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले अधिकांश सडक कालोपत्रे गरिएको छ ।
निर्वाचनपश्चात् सुरुको वर्षदेखि नै सडकलाई प्राथमिकता दिँदै हिलोमुक्त सडक बनाउन स्तरोन्नति गर्दै कालोपत्रे गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । “प्रत्येक वर्ष १० किलोमिटरभन्दा बढी सडक कालोपत्रे बनाएका छौँ , गाउँ–गाउँ पुग्ने सडक कालोपत्रे हुँदा नागरिकको आवतजावतमा सहज भएको छ”, अधिकारीले भन्नुभयो, “आगामी वर्ष पनि विभिन्न सडकलाई कालोपत्रे बनाउने योजना अघि सारेका छौँ ।”
नगरपालिकाले एक वर्षमा २५ किलोमिटर सडकलाई स्तरोन्नति गर्दै ग्राभेल गरेको नगरपालिकाका सवइञ्जिनीयर नारायण बोहोराले बताउनुभयो । उहाँका अनुसार एक वर्षको अवधिमा तीन किलोमिटर सडक आरसिसी, सामुदायिक भवन, धर्मशाला, दुई किलोमिटर नाली र दुई वटा कल्भर्ट निर्माण सम्पन्न भएको छ ।
निर्माण सम्पन्न भएका सडक अनुगमन गरिएको उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । “निर्माण काम सम्पन्न भएका अधिकांश सडक अनुगमन गरेका छौँ, गुणस्तरीय काम भएको छ”, थारुले भन्नुभयो, “सडकको गुणस्तरमा प्रश्न उठिरहेको बेला अनुगमनलाई प्रभावकारी बनाएका छौँ ।”
शिवराज नगरपालिका–१ उमरीदेखि वनकट्टासम्मको सडक कालोपत्रेको काम रु ५० लाखको लागतमा सम्पन्न भएको छ । त्यस्तै खरेन्द्रपुरदेखि धनगढवासम्मको सडक पनि यसै वर्ष कालोपत्रे भएको छ । लामो समयदेखि वर्षातकको समयमा सडक हिलाम्मे हुँदा आवतजावतमा समस्या भएकाले यस वर्ष यस सडक कालोपत्रे गरिएको वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।
त्यस्तै सो वर्षीदेखि कटुवा, शिवराज–५ राष्ट्रिय माविदेखि रहटकोल जाने सडक कालोपत्रे सम्पन्न भएको छ । एक वर्षभित्र सबै गाउँमा पुग्ने सडक कालोपत्रे गर्ने योजना नगरपालिकाको रहेको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्