तपाईँ सुन्दै हुनुहुन्छः

दुई वर्षदेखि अलपत्र शीतभण्डार योजना

भजनी। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयन एकाइले ७५ प्रतिशत लागत साझेदारीमा निर्माण गर्ने भनिएको शीत भण्डारको काम चालु आर्थिक वर्षमा पनि सञ्चालनमा आउन सकेन । कार्यान्वयन एकाइले गत आवदेखि नै शीत भण्डारका लागि बजेट विनियोजन गरेको भए पनि लागत सहभागिताबाट सङ्कलन हुनुपर्ने रकम सङ्कलन भई नसक्दा शीत भण्डारको काम अगाडि बढ्न नसकेको हो ।

केही समय शीत भण्डारका लागि चाहिने आवश्यक जग्गाको अभाव रहे पनि टीकापुर नगरपालिकाले जग्गा उपलब्ध गराउने निर्णय गरिसक्दासमेत आयोजनाको कुलो समितिले समितिका सदस्यबाट सङ्कलन गर्नुपर्ने आवश्यक रकम सङ्कलन नहुँदा शीतभण्डार निर्माणको काममा ढिलाइ भएको छ । अहिलेसम्म करिब रु ७० लाख जम्मा गरिएको भए पनि अझै समितिलाई रु एक करोड सङ्कलन गर्नुपर्ने देखिएको छ ।

आयोजनाले शीत भण्डारका लागि चालु आवमा रु चार करोड विनियोजन गरेको थियो । समितिले आवश्यक रकम सङ्कलन गर्न नसक्दा दुई वर्ष रकम फ्रिज भएको कार्यान्वयन एकाइका प्रमुख भरत कँडेलले बताउनुभएको छ । “आयोजनाका कारण रकम फ्रिज भएको होइन, हामीसँग रकम छ तर समितिले रकम सङ्कलन गर्न नसकेका कारण रकम फ्रिज भएको हो”, कार्यान्वयन एकाइका प्रमुख कँडेलले भन्नुभयो, “आउँदो आवमा पनि बजेट आउँछ, सायद आउँदो वर्षमा शीत भण्डारको काम हुन्छ भन्ने आशामा हामी छौँ ।”

रानी जमरा कुलरिया सिँचाइ आयोजना मूल कुलो समितिका अध्यक्ष कुमारराज शाहीले समितिले रकम सङ्कलनको काम समयमै पूरा गर्न नसकेका कारण समस्या भएको बताउनुभएको छ । उहाँले उपभोक्ताबाट सङ्कलन हुनुपर्ने रकम समयमै सङ्कलन हुन नसक्दा शीत भण्डारका लागि आएको रकम फ्रिज भएको बताउनुभयो । “हामीले करिब रु ७० लाखभन्दा बढी रकम सङ्कलन गरेका छौँ । अहिले पनि शेयर लिन चाहने आयोजनाको कमान्ड क्षेत्रभित्रका नागरिकलाई आह्वान गरेका छौँ”, अध्यक्ष शाहीले भन्नुभयो, “जानकी गाउँपालिका र टीकापुर नगरपालिकाले पनि उपभोक्ताबाट सङ्कलन गर्नुपर्ने अपुग रकम दिने भनेको छ तर कहिले दिने ? भन्ने कुनै टुङ्गो लागेको छैन ।” उहाँले आउँदो आवमा जसरी पनि शीतभण्डार निर्माणको काम सञ्चालन हुने बताउनुभएको छ ।

करिब रु सात करोडको लागतमा निर्माण हुने शीत भण्डारको क्षमता एक हजार मेट्रिक टनको रहने छ । टीकापुर क्षेत्रमा शीतभण्डार नभएकै कारण कैयौँ किसानले लगाएको तरकारी तथा अन्य फलफूल नष्ट गर्नुपर्ने बाध्यता रहँदै आएको छ । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले शीतभण्डार निर्माणका लागि गाउँपालिकाले बजेट दिने भने पनि समितिका पदाधिकारी आधिकारिक रूपमा गाउँपालिका आई नपुगेको बताउनुभयो । “मैले शीत भण्डारका लागि अपुग रकममा केही सहयोग गर्ने भन्दै धेरै कार्यक्रममा बोलेको छु । बोलेर मात्रै सहयोग हुन्छ भन्ने ठान्नु गलत हो । त्यसका लागि प्रक्रिया पु¥याएर गाउँपालिकासम्म आउन सक्ने कष्ट पनि गर्न सक्नुपर्दछ”, अध्यक्ष चौधरीले भन्नुभयो, “शीत भण्डारका लागि मात्रै नभई अन्य कुरामा पनि हामी कार्यक्रममा बोलिदिन्छौँ । त्यसको कार्यान्वयनका लागि सम्बन्धित निकाय प्रक्रिया पु¥याएर आउनु पनि त प¥यो ।”रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button