नियमित विद्यालय गएर पठनपाठन गर्न प्रोत्साहन गर्दै पौवादुङमा गाउँपालिका

भोजपुर । गाउँपालिका भित्रका बिद्यार्थीहरुलाई नियमित विद्यालय गएर पठनपाठन गर्न प्रोत्साहन गर्दै भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले छात्रवृत्ति वितरण गरेको छ ।
यस वर्षको वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने ११ जना विद्यार्थीलाई बिहीबार गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम अन्तर्गत ८४ हजार रुपैयाँ वितरण गरिएको छ ।
कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका ६ वटा विद्यालयमा कक्षा ५, ८ र १० अध्ययनरत विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।
माने डाँडा मावि बस्तीमा, राधाकृष्ण मावि श्याम शिला, सानोदुम्मा मावि सोनोदुम्मा, पञ्चकन्या मावि च्याङ्ग्रे, बाल कल्याण आधारभूत विद्यालय सानोदुम्मा र तिवारीभञ्ज्याङ माविमा अध्ययनरत प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीले नगद १२ हजार, १० हजार, ८ हजार, ७ हजार, ६ हजार, ५ हजार र ४ हजार समेत पाएको गाउँपालिकाले जनाएको छ ।
पुरस्कृत भएका विद्यार्थीलाई गाउँपालिकाका अध्यक्ष किरण राईले नगदसहित प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
गाउँपालिका अध्यक्ष राईले आर्थिक अवस्था कमजोर भएका तथा विद्यालयमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई अध्ययनमा प्रोत्साहित गर्दै नियमित विद्यालय आउने वातावरण निर्माणका लागि गाउँपालिकाले छात्रवृत्ति वितरण गरेको बताउनुभयो ।

“गाउँपालिकाले पालिका भित्रका विद्यालयहरूमा स्टेशनरी, न्यानो कपडा वितरण, अन्य कार्यक्रमहरू समेत गर्दै आइरहेको छ, यसले विद्यालयका विद्यार्थीलाई उत्साहित बनाएको नै छ । अहिले छात्रवृत्तिले विद्यार्थीको पठनपाठनमा थप मद्दत मिल्ने छ ।” गाउँपालिका अध्यक्ष राईले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम अन्तर्गत छनौट भएर पुरस्कृत भएकोमा बिद्यार्थीहरु समेत हर्षित देखिएका छन् । पुरस्कार पाएपछि आफूहरूलाई खुसी महसुस भएको पञ्चकन्या मावि कक्षा १० का छात्र योगराज कटुवालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्