सप्तरीमा बस र ट्रक एक आपसमा ठोक्किँदा ११ जना घाइते

सप्तरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ स्थित सितापुरमा आज बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।
घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ७६२० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ख ६८४५ नम्बरको ट्रक ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोरङको रङ्गेली नगरपालिका ६ का ३२ वर्षीय रबिन कुमार सरदार, सोही ठाउँका २८ वर्षीय सन्तोष सरदार, बर्ष २५ का वीरेन्द्र सरदार गम्भीर घाइते भएका छन् ।
यसै गरी विराटनगर उपमहानगरपालिकाका ३५ वर्षीय विजय दास, बसका चालक कपिलवस्तु बुद्धभुमी गाउँपालिका ३ का ३८ वर्षीय हेमराज अधिकारी, लुम्बिनी रुपन्देही नगरपालिका १३ बस्ने ३५ वर्षका दुर्गा पौडेल, लुम्बिनी महादेवा गापा २ का युवराज पुल घाइते भएका छन् ।
यस्तै ट्रक चालक बारा जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने बर्ष २९ को रोशन श्रेष्ठ र सोही ठाउँका ट्रकका सहचालक बर्ष २५ का सुरज बुढाथोकी घाइते भएका छन् ।
घाइतेहरूलाई तत्कालै प्रहरीले उद्धार गरी उपचारका लागि महुली पोली क्लिनिक महुलीमा प्राथमिक उपचारका लागि पठाइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि बाहिर पठाएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनाग्रस्त दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्