जथाभाबी पार्किङ गरिएको सवारी साधनमा ‘ह्विल लक’ लगाउन सुरु

झापा । झापामा निषेधाज्ञा खुकुलो भएसँगै बजारमा हुने भिडभाड तथा ट्राफिक जामलाई सहज बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले नियम उल्लङ्घन गर्नेलाई कारबाही तीव्र बनाएको छ ।
बिर्तामोड, दमक, काँकडभिट्टा लगायतका सहरहरूमा जथाभावीरुपमा सवारी पार्किङ गर्ने क्रम बढेको भन्दै नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईँ जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक अवरुद्ध हुने गरी सडकमा सवारी पार्क गर्ने क्रम बढेपछि ‘ह्विल लक’ लगाउन सुरु गरिएको छ । उहाँले नियम मिच्ने कसैलाई पनि नछोड्ने बताउनुभयो ।
निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरू बाहिर निस्कने र जथाभाबी रुपमा सवारी पार्क गर्दा बिर्तामोड लगायतका क्षेत्रमा ट्राफिक जाम हुन थालेपछि ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने सवारीलाई ह्वील लक लगाएर कारबाहीको दायरामा ल्याउन सुरु गरेको हो ।
ट्राफिक नियम उल्लङ्घन गरे कारबाहीमा पर्ने थाहा हुँदाहुँदै पनि कतिपयले अटेरी गरेर जथाभाबी रुपमा सवारी पार्किङ गरेको पाइएको छ ।
समाजका प्रतिष्ठित व्यक्तिहरूले नै नियम उल्लङ्घन गरेर चार पाङ्ग्रे सवारी जथाभाबी रुपमा पार्किङ गर्ने गरेको पाइएको छ ।
ट्राफिक प्रहरीले मङ्गलवारबाट सार्वजनिक सवारी सञ्चालनमा आएसँगै स्वास्थ्य मापदण्ड पालना भए नभएको तथा बढी भाडा लिए नलिएको विषयमा अनुगमन थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्