तपाईँ सुन्दै हुनुहुन्छः

मजदुरले ज्याला माग गदै टावर बन्द गर्दा तीन जिल्लाको फोन सेवा अवरुद्ध

जाजरकोट। नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन् । डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङक दिनका लागि यो टावर निर्माण गरिएको थियो । टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताउनुभयो ।

हप्ता दिनदेखि टावर बन्द गरिँदा जाजरकोटको नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबीसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावर बन्द भएका छन् । मजदुरले रकम नपाएसम्म टावर नखोल्ने अडान लिएका कारण समस्या भएको नेपाल टेलिकम जाजरकोटले बताएको छ । झन्डै रु दुई लाख ठेकेदारले मजदुरलाई दिन बाँकी रहेको पीडितले बताएका छन् ।

करिब दुई वर्ष लगाएर निर्माण गरिएको टावर सञ्चालनमा आएको तीन महिना नबित्दै मजदुर आन्दोलित भएका थिए । टावर नहुँदा आर्थिक वर्षको अन्तिममा समस्या भएको डोल्पा मुड्केचुला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले बताउनुभयो । मजदुरलाई पटक पटक आग्रह गर्दा पनि टावर नखोल्दा समस्या भएको जाजरकोट नेपाल टेलिकमका प्रमुख गोविन्द्र अधिकारीले बताउनुभयो । ठेकेदारको बदमासीले गर्दा मजदुर मर्कामा परेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button