तनहुँमा भारी वर्षा : ऋषिङमा पहिरोमा पुरिएर एक जना बेपत्ता

तनहुँ । तनहुँमा गएरातिदेखि निरन्तर अविरल वर्षा भईरहेकोे छ ।जिल्ला साना ठुला नदीमा आकस्मिक बहाव आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पहिरोका कारण जिल्लाको ऋषिङ–८ मझकोटमा एक जना पुरिएका छन् ।पुरिने व्यक्ति ऋषिङ गाउँपालिकाका सुरक्षा गार्ड ४१ वर्षीय खुमबहादुर आले हुनुहुन्छ ।
बिहान गोबर सोहोर्न जानुभएका उहाँलाई गोठमाथिबाट आएको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिनुभयो ।
आलेको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।अहिले स्थानीय र जनप्रतिनिधिको सक्रियतामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरी टोली उक्त स्थानमा जाँदै गरेको छ उहाँले जानकारी दिनुभयो ।
बन्दिपुरको खहरेमा ६ घर बगायो
गएरातीदेखी आएको वर्षाले जिल्लाको बन्दिपुर गाउँपालिकाको वडा नम्बर २ खहरेमा ६ घर बगाएको छ ।खहरे खोलामा आएको बाढीले घरहरू बगाएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाका अनुसार घरहरू बगाए पनि मानवीय क्षति नभएको बताउनुभयो ।बन्दिपुर क्षेत्रमा अत्यधिक बर्ष भएकाले सबैलाई सचेत रहन गाउँपालिकाका अध्यक्ष थापाले आग्रह गर्नुभएको छ ।
खोलाले घर बगाएपछि ६ घरका मानिसहरू नजिकैको आमा समूहको भवनमा आश्रय लिइरहेको अध्यक्ष थापाले बताउनुभयो ।केही दिन अघि बाढीले सोही स्थानमा दुई घर बगाएको थियो । सो स्थानका मात्रै ८ घर परिवार अहिले घर विहीन बन्न पुगेका छन् ।
त्यस्तै जिल्लाका पहिरोग्रस्त क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।जिल्लाको बन्दिपुर, बिमलनगर र आसपासका क्षेत्रहरूमा गएरातीदेखि भारी वर्षा भएको विभागले जानकारी दिएको छ ।
लल तथा मौसम विज्ञान विभागका अनुसार देशभर नै आगामी ३ दिन भारी वर्षा हुने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्