कैलालीमा अढाई महिना पछि होटेल सञ्चालन
धनगढी । कैलालीमा अढाई महिना पछि होटेल तथा रेष्टुरेन्ट सञ्चालनमा आएका छन् । कोरोना संक्रमण बढेपछि जिल्ला स्थित होटेल तथा रेष्टुरेन्ट बन्द भएका थिए । स्थानीय प्रशासनले होटेल खोल्न अनुमति दिएपछि बन्द रहेका सबै होटेल आजदेखि सञ्चालनमा आएको होटेल व्यवसायी सङ्घ कैलालीले जनाएको छ ।
कोरोना सङ्क्रमणको जोखिम कायम रहेको भन्दै स्थानीय प्रशासनले जनस्वास्थ्यका मापदण्ड पालना गरी बिहान देखि राती ८ बजेसम्म होटेल सञ्चालन गर्न भनेको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जनजीवन सामान्य बनाउँदै आर्थिक गतिविधि चलायमान गर्न जारी निषेधाज्ञा खुकुलो पार्दै होटेल, बजार पसल सञ्चालन गर्न अनुमति दिइएको बताउनुभयो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले बैशाक १६ गते निषेधाज्ञा जारी गरेपछि कैलालीमा सम्पूर्ण होटेल बन्द भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्