तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतबाट सिम्रिक एयरको हेलिकप्टर सेवा सुरु


सुर्खेत । सिम्रिक एयरले सुर्खेत बेस क्याम्प बनाएर हेलिकोप्टर सेवा सुरु गरेको छ ।

कम्पनीले तेस्रो चरणको कोरोना महामारीलाई ध्यानमा राख्दै उद्धार, उपचारमा नागरिकलाई सहजता पुगोस् भन्ने उद्देश्यले सुर्खेत बेस क्याम्प बनाएर हेलिकोप्टर सेवा सुरु गरेको हो ।

सिम्रिकले कोभिड एवं अन्य अत्यावश्यक बिरामीका लागि आधुनिक उपकरण, दक्ष डाक्टरसँगै हेलिकप्टर सुर्खेत विमानस्थलमा तयारी अवस्थामा राखेको छ ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका नागरिकका लागि चाहिएका बेला सुर्खेत आसपासमा हेलिकप्टर सेवा नहुँदा काठमाडौँबाट मगाउँदा बढी समय खर्चिनुका साथै महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको थियो । तर, अब कम्पनीले सुर्खेत वेश क्याम्प नै बनाएर हेलिकप्टर सेवा सुरु गरेपछि अत्यावश्यकता कार्यका लागि प्रदेशका अन्य क्षेत्रबाट उद्धार तथा उपचारमा सहज हुनुका साथै जति बेला पनि काठमाडौँ जान सहजता पुग्ने अपेक्षा गरिएको छ ।

सिम्रिक एयर प्रालिका बजार विभाग प्रमुख योगेश सापकोटाले पश्चिम क्षेत्रका नागरिकको आवश्यकता र मागलाई मध्यनजर गर्दै सुर्खेत विमानस्थलबाट हेलिकोप्टर सेवा सुरु गरिएको बताउनुभयो ।

उहाँले कोरोना महामारीको पहिलो र दोस्रो चरणमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशबाट कोरोना सङ्क्रमितसँगै अन्य बिरामीको हवाई उद्धार गरिएकाले तेस्रो चरणको तयारीका लागि आवश्यक सर समानसहित सुर्खेत विमानस्थलबाट हेलिकप्टर सेवा सुरु गरिएको जनाउनुभयो ।

“कर्णाली तथा सुदूरपश्चिमका नागरिकलाई अत्यावश्यकता हवाई सेवा लिनका लागि काठमाडौँ गुहार्नुपर्ने बाध्यता थियो,’ उहाँले भन्नुभयो, ‘कम्पनीले आफ्नो सेवालाई कार्गोमा मात्र सीमित नराखी हेलिकप्टरमार्फत बिरामी तथा अन्य अत्यावश्यकता सेवालाई सहज, सुलभ बनाउँदै सुर्खेत वेश क्याम्प बनाएर हेलिकप्टर सेवा सुरु गरेको हो ।”

उहाँले सुर्खेतबाट हेलिकप्टर सेवा शुभारम्भ गरेसँगै प्रदेश सरकार एवं आम नागरिकलाई हेलिकप्टर सेवा लिन सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार कम्पनीले देशैभर २ सय १४ वटा फ्लाइट कोरोना महामारीको दोस्रो चरणमा कोभिड सङ्क्रमितसँगै सुत्केरी उद्धार लगायतका कार्य गरिसकेको छ ।

सिम्रिक एयर हाल कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरूमा खाद्यान्न ढुवानीसँगै, मानवर उद्धार, सशस्त्र र नेपाल प्रहरीलगायतका आवश्यक सरसामान ओसार पसार गर्दै आइरहेको कम्पनीका बजार विभाग प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

उहाँले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य सुरक्षा तथा सावधानीका सबै मापदण्ड पुरा गरेपछि नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस सङ्क्रमितको उद्धार गर्न एयर एम्बुलेन्स सेवाको अनुमति दिएको बताउनुभयो ।

कम्पनीले दुई वटा हेलिकप्टरलाई कोरोना सङ्क्रमितहरूको सेवाका लागि छुट्याएको छ । कम्पनीसँग हाल पाँच वटा हेलिकप्टर छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button