२ हप्ताको अवधिमा २० फरार प्रतिवादीहरू पक्राउ
स्याङ्जा । जिल्ला प्रहरी कार्यालयले दुई हप्ताको अवधिमा २० जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
अदालतबाट फैसला भएर पनि फरार व्यक्तिहरूका कारण समाजमा शान्ति सुरक्षामा चुनौती आउने र अपराध गरे पनि विना सजाय समाजमा रहँदा अपराध गर्न थप प्रोत्साहित गर्ने हुँदा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गरी गएको दुई हप्तामा २० फरार व्यक्तिहरूलाई पक्राउ गरेको हो ।
विगत ३९ वर्षदेखि फरार रहेका व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ । २०३९ साल देखि सवारी ज्यान मुद्दामा फरार रहेका पुतलीबजार ६ का ६५ वर्षीय मोती प्रसाद गुरुङलाई समेत प्रहरीले पक्राउ गरी अदालत पठाइएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यस्तै २०७० सालमा नावालिकालाई जबरजस्ती करणी मुद्दामा ५ बर्ष कैद सुनाइएको तर ८ वर्षदेखि फरार रहेका अर्जुनचौपारी गाउँपालिका २ ७१ वर्षीय मन बहादुर रोका लगायत विभिन्न मुद्दा संलग्न २० जनालाई पक्राउ गरी अदालतमा आवश्यक कारबाहीको लागी लगिएको प्रहरीले जनाएको छ ।
अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै जबरजस्ती करणी, लागुऔषध, वैदेशिक रोजगार, सवारी ज्यान नाता कायम, करकाप, गाली बेइज्जती लगायतका विभिन्न मुद्दामा लुकीछिपी बसेका प्रतिवादीहरूलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको सूचना अधिकारी समेत रहेका प्रनाउ राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । विगत २ हप्ता देखी निगरानी उनीहरूलाई जिल्ला भित्रका विभिन्न स्थान र बाहिर जिल्लाबाट समेत समन्वय गरी पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्